fbpx
४ जेष्ठ २०७८, मंगलवार

महोत्तरीमा यौन हिंसाको घटनामा वृद्धि

विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७-७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्जस्ती करणी प्रयासका घटना गरी जम्मा ४१ यौनहिंसाका घटना घटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार जबर्जस्ती करणीमा ४५ जना संलग्न छन् भने १० जबर्जस्ती करणी उद्योगमा १३ जना संलग्न छन् । यसरी जम्मा ५८ जनाले ४१ यौन हिंसाका घटना घटाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जबर्जस्ती करणीको घटनामा संलग्न ४५ मध्ये २२ जनालाई र जबर्जस्ती करणी उद्योगका घटनामा संलग्न १३ मध्ये आठ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । दुवै थरीका घटनामा २८ प्रतिवादी अझै फरार रहेका तथा उनीहरुको खोजतलास भइरहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

यौनहिंसामा पर्ने अधिकांश महिला तथा युवायुवती २० वर्ष मुनिका र कोही कोही २४ वर्षसम्मको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यौन हिंसाका घटना घर, डेरा, होटल, टोल छिमेक, वन सबैतिर भएको तथ्याङ्कले देखाएको छ । यस सन्दर्भमा महिला अधिकारकर्मी रेखा झाले विगत केही दिनदेखि जिल्लामा अप्रत्याशित रुपमा यौन हिंसाका घटना बढ्दै गइरहेको बताउनुभयो । जिल्लामा दिनानु दिन यौन हिंसाका घटना बढ्दै जानुमा विभिन्न कारण रहेको बताउँदै उहाँले यौन हिंसाजस्ता गतिविधिमा लागेका युवा तथा पुरुषलाई कडाभन्दा कडा कानूनी कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहयोगी रञ्जु बरालले आधुनिकताको नाउँमा भड्किलो पहिरन, अश्लिल गीत, आवश्यकताभन्दा बढी खुलापन र सीमा नाघेर गरिएको मानवता विपरितका क्रियाकलाप यौनहिंसाका कारक तत्व रहेको भन्दै यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कडाभन्दा कडा कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता घटनामा संलग्न व्यक्तिलाई प्रहरी, प्रशासन तथा न्यायिक निकायका साथै समाजले पनि बिना पूर्वाग्रह शून्य सहनशीलता अपनाइ दण्ड र सजायको भागिदार बनाइनुपर्नेमा जोड दिनुभयो ।

कोभिड –१९ को सन्त्राससँंगै सरकारले घोषणा गरेको लकडाउनको समय पनि महिला हिंसाका घटनामा वृद्धि भएको छ ।

यसबीचमा महिला घरेलु यौन हिंसाको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिंसा सहेर बसेको सरोकार पक्षको भनाइ छ । घटना प्रशस्त भए पनि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका सेलमा भने उजुरी थोरै परेका छन् । उजुरी गर्नेहरु पनि सदरमुकाम आसपासका पीडित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“यस अवधिमा पतिबाट कुटपिटमा परेर हिंसा भोगिरहेका महिलाहरुको सङ्ख्या धेरै देखिएको छ”, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहयोगी रञ्जु बरालले भन्नुभयो । लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था नभएकाले कतिपय महिला हिंसा लुकाउन बाध्य भएको उहाँको भनाइ छ ।

“स्थानीय तहको न्यायिक समिति, स्थानीय प्रशासन र अदालतमा गएर उजुरी गर्ने वातावरण नहँुदा महिलाहरु हिंसा सहन बाध्य छन्, उहाँले भन्नुभयो, “नजिकको प्रहरी युनिटमा समेत उजुरीपश्चात् छलफल गर्ने वातावरण छैन ।” यस अवधिमा मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्ने खालको घरेलु हिंसाका घटना बढी देखिएको उहाँको भनाइ छ ।