८ बैशाख २०८१, शनिबार

च्याम्पियन्स लिग: घरेलु मैदानमा बार्सिलोनाको लज्जास्पद हार

barcelona vs psg

युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ ।

अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा बार्सिलोनालाई उसैको मैदानमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ४-१ गोलअन्तरले हराएको हो ।

भ्रमणकारी टोली पीएसजीका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइज किनले एक गोल थपे ।

बार्साका लियोनल मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । पहिलो लेगमा फराकिलो हार भोगेसँगै बार्सिलोना दोस्रो लेगअघि दबाबमा परेको छ ।

खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले लिएको थियो । २७औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

३२औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

बार्सिलोनाविरुद्ध ह्याट्रिक गरेपछि पिएसजीका किलियन एमबाप्पे
दोस्रो हाफको ६५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोल गरेपछि पिएसजी खेलमा अगाडि आएको थियो । ७०औं मिनेटमा किनले गोल गरेपछि पिएसजी जीततर्फ उन्मुख भएको थियो । ८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे र टोलीलाई ४-१ को जीत दिलाए ।

यस जीतसँगै पिएसजीले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनाले दोस्रो लेगमा कम्तीमा पनि ४-० को जीत निकाल्नुपर्ने हुन्छ । अन्यथा बार्सिलोनाको यात्रा अन्तिम १६ मै टुङ्गिनेछ ।

यता, बुधबार बिहान भएको राउण्ड अफ सिक्सटिनको खेलमा इंग्ल्याण्डको लिभरपुलले जर्मनीको आरबी लेप्जीगलाई २–० ले हराएको छ । जर्मनीमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र सादियो मानेले १–१ गोल ठोके ।

च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज पोर्चुगलको एफसी पोर्टोले इटालीको युभेन्टससँग खेल्दा स्पेनको सेभिया र जर्मनीको बोरुसीया डर्टमण्ड भिड्नेछन् ।