७ बैशाख २०८१, शुक्रबार

मकवानपुरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

manahari
फाइल फोटो

भूमिसम्बन्धी समस्या समाधान आयोगको मकवानपुर कार्यालय स्थापना भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आयोगको कार्यालयको आज उद्घाटन गर्दै मकवानपुर जिल्लाको भूमिसम्बन्धी समस्या समाधानमा आयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुुभयो ।

भूमिसम्बन्धी समस्यालाई प्रभावकारीरुपमा समाधान गर्ने गरी काममा खटिन आयोगलाई आग्रह गर्दै उहाँले यसमा जिल्ला समन्वय समितिका तर्फबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोगको जिल्ला समितिमा एक अध्यक्ष, एक विज्ञ सदस्य र एक सदस्य गरी तीन जना राजनीतिक नियुक्ति तथा डिभिजन वन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालयका प्रमुख सदस्य तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष रामेश्वर रानाले आयोगमार्फत जिल्लामा भूमिविहीनलाई जग्गा, लालपुर्जालगायत भूमिसम्बन्धी समस्याको समाधानलाई प्रभावकारीरुपमा अघि बढाउने बताउनुभयो । उहाँले जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि सङ्घीय सरकारमार्फत आठ वटा पालिकामा सम्झौता भएर कामसमेत शुरु भइसकेको र बाँकी पालिकामा समेत छिट्टै काम शुरु गरिने बताउनुभयो । जिल्लाको कैलाश र इन्द्रसरोवर गाउँपालिकाबाहेक स्थानीय तहमा भूमिसम्बन्धी तथ्याङ्क सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।