१२ बैशाख २०८१, बुधबार

शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक तथा अभिभावकको सामूहिक प्रयास आवश्यक: मुख्यमन्त्री पौडेल

tribhuwan school nawalpur
फाइल फोटो

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक तथा अभिभावकको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले शिक्षकले पढाउनु र सिकाउनुको भेद छुट््याउन आवश्यक रहेको बताउनुभयो । सो विद्यालयका पूर्वप्रधानाध्यापकसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले प्रभावकारी शिक्षण विधिको प्रयोग गरेर विद्यार्थीलाई बढीभन्दा बढी सिकाउनुपर्नेमा जोड दिनुभयो ।

“एक्काइसौँ शताब्दीको आवश्यकताअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आजको आवश्यकता रहेको छ”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयका शिक्षकले आफ्नो पुरानो गरिमा फर्काउन प्रयास गर्नुपर्दछ ।” मुख्यमन्त्री पौडेलले स्तरीय शिक्षा प्राप्त गर्न पाउने बालबालिकाको अधिकार भएकाले शिक्षकले विशेष ध्यान दिनुपर्ने बताउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले देशलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनका लागि विद्यालयस्तरदेखिनै प्रयास गरिनुपर्नेतर्फ ध्यान दिइनुपर्ने उल्लेख गर्नुभयो ।

विसं २०७२ को विनाशकारी भूकम्पमा परी क्षति भएको विद्यालयको तीन तले भवन जापान सरकारको ऋण सहयोगमा पुनःनिर्माण सम्पन्न भएको हो । रु तीन करोड ५४ लाखको लागतमा सो भवन निर्माण भएको पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिनुभयो ।

यसैबीच, उक्त विद्यालयलाई वाग्मती प्रदेश सरकारले रु ३० लाख उपलब्ध गराउने निर्णय गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेशका सामाजिक विकासमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।