२६ बैशाख २०८१, बुधबार

‘कलाकारहरुलाई राष्ट्रका गहना भन्न मिल्दैन’

biswoprakash shrma
फाइल फोटो

कलाकारलाई राष्ट्रका गहना भन्न नमिल्ने कुरा पछिल्लो समय उठ्न थालेको छ। नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको दशौं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कलाकारहरुलाई राष्ट्रको गहना भन्न नमिल्ने बताएका हुन् ।

उनले नेपाली चलचित्रका कलाकारहरुलाई राजनीतिक दलका नेताहरुले देशका गहना भनेर सम्बोधन गर्दै आएको पाइएको र कलाकारलाई कलाकार नै भन्दा गर्व लाग्ने बताएका छन् । कार्यक्रममा शर्माले भने, ‘कतिपयले बोल्ने बेलामा कलाकारलाई राष्ट्रको गहना भनेको पाउँछु । तर, माफ गर्नुहोला कलाकारहरु राष्ट्रका गहना होइनन् ।’
कार्यक्रममा मदनकृष्ण ,नीर शाह लगायत अग्रज कलाकारको बाक्लो उपस्थित रहेको थियो । यसै कार्यक्रममा सहभागी भएका कलाकारलाई देखाउँदै भने ,‘मदनकृष्ण दाई, नीर शाह दाई वा अन्य अंग्रज कलाकारको म कति मुल्य तोकुँ ।’

फिल्म क्षेत्रले देश निर्माणमा ठूलो भूमिका खेलेको भन्दै फिल्मर्कीको प्रशंसा गर्नुका साथै फिल्म क्षेत्रले मनोरञ्जन, रोजगारी, राजश्वमा योगदान, सामाजिक मुद्दाहरुको उठान गरेको बताए। उनले फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न सबै दलसँग आग्रह समेत गरे । उनले आफुले सधैँ नेपाली फिल्म क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै आएको समेत बताए । कलाकारको सम्मान गर्न र कलाकारले नै देशमा परिवर्तन ल्याउन सक्ने उनको निचोड थियो ।