fbpx
१६ फाल्गुन २०७७, आईतवार

कृषि समाचार:- किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थाले

तनहुँका किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् ।

उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ ।

गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दःुखेसो रहेको छ । गत वर्ष धार्नीको रु २०० मा बिक्री भएको थियो । यस वर्ष रु १०० देखि १२० सम्म मूल्य तोक्ने गरेको भीमाद नगरपालिका–४ का तुलबहादुर थापाले जानकारी दिनुभयो ।

पाँच रोपनीमा अदुवा लगाउँदै आउनु भएका उहाँले भन्नुभयो, “गत वर्ष रु दुई लाख मूल्य बराबरको अदुवा बिक्री गरेको । ” भारत निकासीमा बन्द र स्थानीय बजारमा भाउ नहुँदा अहिलेसम्म ९० प्रतिशत कृषकको अदुवा बारीमा नै रहेको छ ।
जिल्लाका भीमाद र शुक्लागण्डकी, देवघाट, ऋषिङ र बन्दीपुर गाउँपालिकामा व्यावसायिक अदुवाखेतीको लागि पकेट क्षेत्रको रुपमा मानिन्छन् । भारतको मात्रै भरपर्दा कृषकलाई बिक्री गर्न समस्या परेको छ । उहाँले भन्नुभयो “सङ्कलन, प्रशोधन, भण्डारण र बिक्री सम्बन्धी अध्यायन गरी समाधान गर्न जरुरी देखिएको छ ।”

पहाडी क्षेत्रका कृषकका लागि अदुवा मुख्य नगदेबालीको रुपमा लिइन्छ । अदुवाको गत फागुन र चैत महिनामा लगाउने गरिन्छ भने नौ महिनामा तयार हुन्छ । अदुवा पुस र माघ महिनामा खन्ने गरिन्छ । गत वर्ष भारतमा माग धेरै भएकाले मूल्य राम्रो पाउँदा जिल्लामा करीब रु ५० करोड बराबरको अदुवा बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पहाडी क्षेत्रको मुख्य बालीको रुपमा रहेको अदुवाखेतीको बजारीकरणको सहज र उपयुक्त वातावरण बनाउन माग समेत गरिइएको छ । यस खेतीको उत्पादनमा वृद्धिका लागि बजारको सुनिश्चिता, प्राविधिक प्ररामर्श, तालीम, गोष्ठी र उन्नत बिउबिजन उपलब्ध गराउन सके अदुवाबाट राम्रो आम्दानी गर्न सकिने अदुवा उत्पादक कृषक बताउँछन् ।

पाखो बारीमा हुने घैया धान, मकै, कोदोखेती भन्दा अदुवाबाट आम्दानी धेरै लिन सकिने भएकोले कृषकको आर्कषण बढे पनि भारतमा माग नभएको समयमा समस्या पर्ने गरेकोले प्रशोधन उद्योग खोलेर औषधि, सुठो, जुस बिक्री गर्नु पर्ने अदुवाका व्यापारी मोहन थापा मगरले जानकारी दिनुभयो ।

विशेषगरी वर्षेनि ठूलो मात्रामा भारत निर्यात हुने अदुवा यस वर्ष निकासी नहुँदा समस्या देखिएको उहाँले जानकारी दिनुभयो । यस्ता समस्या आगामी वर्ष पनि पर्न सक्ने भएकोले स्वदेशमै कसरी खपत गर्ने भन्ने बारेमा सरकारले ध्यान दिनुपर्ने उहाँ बताउनुभयो ।

न्यून सङ्ख्या कषकले आफ्नो घर व्यवहार मिलाउन अदुवा खनेर स्थानीय बजारमा सस्तो दरमा बिक्री गर्ने गरेको सो केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । भारतमा कम उत्पादन भएको बेला नेपाली अदुवाको माग धेरै हुनुका साथै उचित मूल्य पाउने र भारतमा उत्पादन बढेको बेला यहाँको अदुवाको मूल्य ह्वात्तै घट्ने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा ५१० हेक्टर जमीनमा अदुवाखेती भएकोमा सात हजार ३८० मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७६÷७७ मा ५३० हेक्टर जमीनमा खेती गरेकोमा सात हजार ७४९ मेट्रिक टन उत्पादन केन्द्रले जनाएको छ ।

अदुवाखेतीबाट राम्रो आम्दानी गर्न थालेपछि किसान यस खेतीतर्फ आर्कर्षित बन्दै गएका थिए । कुनै कुनै वर्ष मूल्य कम पाउँदा निराश पनि हुने गरेका छन् ।

आलुमा आत्मनिर्भर बन्न खोज्दै ढोरफिर्दी

साविकको ढोरफिर्दी गाविस हालको शुक्लागण्डकी नगरपालिका–८ आलु खेतीमा आत्मनिर्भर बन्ने गरी यस वर्षदेखि आलुखेती थालिएको छ । वडाले ६६७ कृषकलाई अनुदानस्वरुप करीब ३२ हजार किलोग्राम आलुको बीउ वितरण गरेको थियो ।

पहिलो वर्षमै पाँच लाख किलो आलु उत्पादन भएको वडाले जनाएको छ । पहिलो वर्षमै आलु उत्पादनमा राम्रो भएपछि यहाँका कृषक उत्साहित भएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

आफ्नो वडाभित्रका कृषकलाई आलु खेतीमा प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने अभियानमा यस वडा अघि बढेको छ । उहाँले भन्नुभयो, “कृषकलाई आलुको बीउ र औषधिमा अनुदानको व्यवस्था गर्दै आएका छौ ।”

“आलुखेतीको लागि पकेट क्षेत्रको रुपमा यस वडालाई लिने गरिएको छ । आलुखेती गर्ने कृषकलाई अवलोकन भ्रमण, तालीमलगायतका कार्यहरुमा विशेष चासो राखेर कार्य गर्दै आईरहेको छौ । ”उहाँले भन्नुभयो । आलु खेतीबाट राम्रै आम्दानी हुने देखेपछि त्यस क्षेत्रका कृषक आलुखेती तर्फ आर्कर्षित भएका छन् । एक्काइस जनाको समूह मिलेर दुई सय किलो आलु लगाउँदा करीब एक हजार ८०० किलो आलु उत्पादन भएको नवीन टोल समूहकी अध्यक्ष धनमाया आलेले जानकारी दिनुभयो ।

“उत्पादित आलु समूहमा वितरण गर्दा प्रतिव्यक्ति ८० देखी ८५ किलोसम्म भागमा प¥यो ”। उहाँले भन्नुभयो, “वडाले कृषकका लागि गर्नुपर्ने कार्यमा कुनैपनि कन्जु्याई गरिएको छैन् ।” सामूहिक रुपमा आलुखेती गर्दा रमाइलो अनुभूति भएको उहाँ बताउनुहुन्छ । समूहमा काम गर्दा सिक्ने अवसर धेरै मिल्दो रहेछ, उहाँले भन्नुभयो, “जानेकाले नजानेकालाई सिकाइने हुँदा प्रभावकारी हुदोरहेछ ।”

उहाँले आलु उत्पादन गर्ने वडाभरिका कृषकलाई स्याङ्जाको गल्याङमा गरिएको आलुखेतीको अवलोकन भ्रमण पश्चात् आफुहरु प्रभावित भएको उहाँले बताउनुभयो । विगतका वर्षमा रातो र निलो आलु लगाउँदा निलो आलु राम्रो उत्पादन भए पनि यस वर्ष भने रातो आलु बढी मात्रामा उत्पादन भएको अर्का कृषक सपना राना मगरले बताउनुभयो ।

सामूहिक खेतीमा संग्लग्न भएकी उहाँ यसअघि खेती गर्दा आलु खनेर ल्याउदा राम्रो नै रहेपनि पछि कुहिने समस्याले जोगाउन कठिन भएको बताउनुहुन्छ । यसवर्ष आलुमो कुनै किसिमको समस्या नदेखिएको लामो समयसम्म जोगाउन सकिन्छ कि भन्ने विश्वास लागेको उहाँले बताउनुभयो ।

आलु लगाएदेखि पानी नपरेका कारण अपेक्षाअनुरुप उत्पादन हुन नसकेको आलुखेती गरेका कृषकको गुनासो रहेको छ । सिँचाइ भएको भए आलु उत्पादन अझ वृद्धि हुनेमा कृषक विश्वस्त थिए । यस वर्ष आफ्नो खेतमा करीब १५० किलो आलु लगाउदा करीब ९०० किलो आलु उत्पादन भएको कृषक रामबहादुर बानियाँले बताउनुभयो ।

वडामा खेतीयोग्य जमीन प्रशस्त रहेकाले वडाले सिँचाइको व्यवस्था गरी दिएखेतीको लागि अझ सहज वातावरण हुने कृषक बानियाँ बताउनुहुन्छ । आगामी वर्ष आलु उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित कृषक उत्साहित भएर लागेको वडाध्यक्ष रेग्मीले बताउनुभयो । उक्त वडाको लालिमफाँट, फिर्दीफाँट र दहरेफाँट आलुखेतीको लागि प्रख्यात मानिन्छन् ।

चिस्यान केन्द्र बन्दै

सङ्घीय सरकार र शुक्लागडकी नगरपालिका सहयोगमा सङ्गमटोलमा चिस्यान केन्द्र निर्माण हुने भएकोे छ । सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको रु दुई करोड गरी कूल रु तीन करोडको लागतमा केन्द्र निर्माण गर्न लागेको हो ।
बोलपत्र पश्चात यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अघि बढाइएको वडाध्यक्ष रेग्मीले बताउनुभयो । करीब साढे दुई रोपनी क्षेत्रमा निर्माण गरिने चिस्यान केन्द्रको दुई हजार ५०० मेट्रिक टन क्षमताको हुनेछ । शुरुमा वडालाई आलुमा आत्मनिर्भर बनाएपछि आउँदा दिनमा नगरपालिकालाई समेत आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ ।

वडामा चिस्यान केन्द्र निर्माण गरेपछि आलु मात्रै नभइ वडामा उत्पादन गरिएका फलफूल, तरकारीलगायतका बस्तुलाई भण्डारणमा सहज हुने विश्वास गरिएको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले बताउनुभयो ।

कृषकले उत्पादन गरेर बढी भएको कृषिजन्य बस्तु चिस्यान केन्द्रमा लैजान र ढुवानीको लागि वडाले जिम्मा लिन्छ तर चिस्यान केन्द्रमा राख्दा हुने खर्च भने स्वयम कृषकले ब्योर्हनुपर्ने व्यवस्था मिलाइएको छ ।

घट्यो सुन्तलाको उत्पादन

चितवन– पहाडी क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष ९३ दशमलब ५३ मेट्रिक टन सुन्तला कम उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लामा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यसवर्ष जिल्लामा एक हजार ८१९ दशमलब ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

गत वर्ष सोही क्षेत्रफलमा एक हजार ९१० दशमलब ४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा यस वर्ष ईच्छाकामना गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो भएको भए पनि भरतपुर महानगरपालिकामा भने अपेक्षाकृत रुपमा उत्पादन नभएको केन्द्रकी सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भरतपुर महानगरपालिका–२९ कविलास क्षेत्रमा लगाइएको सुन्तलालाई असिनाले असर गरेकाले उत्पादनमा कमी आएको हो । उहाँले भन्नुभयो, “यस वर्ष कविलास क्षेत्रमा सुन्तला उत्पादन हुन सकेन । असिना पानी र रोगको सङ्क्रमणले उत्पादन घटायो ।”

असिना पानीसँगै सुन्तलाको बोटमा जरो कुहिने, टुप्पा मर्नेलगायतका रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । कार्यालयका प्रमुख राजन ढकालले सुन्तलामा लाग्ने रोगका विषयमा कृषकलाई जानकारी गराउँदा पनि रोकथामका विधिको प्रयोग कम भएका कारण उत्पादनमा कमी आएको बताउनुभयो । सुन्तलाको उत्पादन बढाउनका लागि कृषकले मलखात, गोडमेललगायतमा ध्यान दिनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।

सुन्तलाको गोलमेल, झार र कीराको व्यवस्थापन जस्ता विषयमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुन्तला फल्ने बेलामा मात्रै हेरचाह गरेर पुग्दैन, बाह्रैमहिना सुन्तला खेतीमा ध्यान दिनुपर्छ ।” उहाँका अनुसार हिउँदको समयमा सिंचाइलगायतका विषयमा पनि ध्यान दिन सके उत्पादन बढाउन सकिन्छ ।
जिल्लालाई तराईको जिल्ला भनेर चिनिने भए पनि यहाँको पहाडी क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन हुने गर्दछ । भरतपुर महानगरपालिका–२९ र इच्छाकामना गाउँपालिकामा सुन्तलाखेती गरिँदै आएको छ । कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्र पनि सुन्तलाका लागि उपयुक्त मानिन्छ । बिहानदेखि बेलुकासम्म घामको किरण पुग्ने पूर्व फर्किएको ठाउँमा फलेको सुन्तला स्वादिष्ट मानिन्छ । बजार क्षेत्रमा जिल्लाकै सुन्तलालाई पनि गोरखाको मनकामनाको सुन्तला भन्दै बिक्री गर्ने गरेको पाइन्छ ।

नगरले दियो किसानलाई अनुदानमा गाई

इलाम– इलाम नगरपालिकाले किसानलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदानमा गाई दिएको छ । नगरलाई दूध उत्पादनमा स्वभालम्बी बनाउन गाई वितरण गरेको हो । नगरका १२ वडामध्ये ११ वडाका ११० किसानलाई गाई दिएको हो । इलाम बजार क्षेत्रमा पर्ने वडा नंं ७ मा भने नगरले गाई नदिएको हो । वटा वडाका ११० जना किसानलाई रु २७ लाख ५० हजार बराबरको गाई पालनका लागि अनुदान दिएको छ ।

प्रत्येक वडामा १०÷१० जनाको दरले किसानलाई ५० प्रतिशतको दरले अनुदान दिइएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताउनुभयो । किसानले कम्तमिा रु ५० हजारको गाई खरीद गर्नुपर्ने र त्यसको ५० प्रतिशतले हुन आउने रकम रु २५ हजार नगरपालिकाले किसानलाई प्रदान भुक्तानी गरेको पनि उहाँले बताउनुभयो ।

नगरले बजार क्षेत्रमा मात्रै विकासका काम गर्दै आएको भन्दै आलोचना हुन थालेपछि गाईपालनको कार्यक्रममार्फत सबै वडालाई समेटेको हो । किसानले गाई खरीद गरेर बीमासमेत गरेपछि नगरपालिकाले अनुदान रकम किसानलाई दिने गरेको छ ।

किसानलाई बीउ वितरण

यस्तै, नगरले प्रत्येक वडाका बासिन्दालाई उन्नत जातको मकैको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाले वडा कार्यालयमार्फत नगरवसीलाई निःशुल्क मकैको बीउ वितरण गरेको हो । बीउ लिन आउनका लागि वडामा नगरभित्र बसोबास गरेको जग्गाको धनीपूर्जा, तिरो तिरेको रसिद आवश्यक पर्छ । नगरवासीलाई तिर्न उत्प्ररित गर्न पनि यो काम गरेको हो ।

नगरका १२ वटै वडाबाट बीउ वितरण भइरहेको नगर प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो । मकैको बीउसँगै काँक्रा, करेला जस्ता तरकारीको बिरुवा पनि वितरण भइरहेको छ ।