६ बैशाख २०८१, बिहीबार

टिपरको ठक्करबाट मृत्यु भएका राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो विद्युत् आयोजनाको काम ठप्प, ड्याम साइडमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

arun third

सङ्खुवासभाको मकालु–५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प पारेका छन् ।

शुक्रबार बिहान फ्याक्सिन्दा बेशीमा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरका आफन्तले क्षतिपूर्तिको माग गर्दे दोस्रो दिन पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको काम ठप्प पारेका हुन् ।

टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरको शव २४ घण्टा बित्दासक्दा पनि उठाएका छैनन् । मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने माग गर्दै जलविद्य्त् आयोजनाको काम अवरुद्ध बनाएका छन् ।

ठक्करबाट मकालु–३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको घटनास्थलमा नै मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । फ्याक्सिन्दामा जयप्रकाश एशोसिएट कम्पनीले ड्याम साइड निर्माण तथा सरुङ मार्गको काम गरिरहेको छ ।

ड्याम साइडमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

ठक्करबाट मृत्यु भएका राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेपछि घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित १०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारत बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिनुभयो । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

प्रहरीले टिपर चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईं र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ का कार्यालय सहयोगी र गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन् । उनीहरु गाउँपालिका केन्द्रमा सञ्चालन भइरहेको तालीममा सहभागी हुन जाँदै थिए ।

आन्दोलित पीडितका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एशोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आजगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।