१५ चैत्र २०८०, बिहीबार

जसपा मोरङको समायोजनप्रति आपत्ति

JASAPA
फाइल फोटो

जनता समाजवादी पार्टी, नेपाल मोरङको समायोजन नै नभई राजकुमार यादव संयोजक भएको समाचारप्रति सो पार्टीका अर्का समूहले आपत्ति जनाएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी नेपालले वडा समितिदेखि जिल्ला तहमा ५०÷५० प्रतिशत पदाधिकारी रहनुपर्ने सहमति हुँदाहुँदै एकलौटी तथा एकतर्फी पूर्वसमाजवादी पार्टीका जिल्ला अध्यक्षलाई जिल्ला संयोजक बनाएको कुरा अस्वीकार्य रहेको पूर्वराष्ट्रिय जनता पार्टी मोरङका अध्यक्ष मोहम्मद कादिरले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

दुवै समूहलाई बराबरी समायोजना गर्न केन्द्रीय तहका आठ जना नेतृत्वले पाएको जिम्मेवारीअनुसार जिल्लामा त्यस्तो कुनै किसिमको छलफल र बैठक नै नगरी गरिएको यो निर्णयले हामीलाई भ्रामक बनाएको समायोजन टोलीका नेता रामलाल सुतियारले जानकारी दिनुभयो । स–सम्मान सबैलाई बराबरी नेतृत्वमा सहभागी गर्ने पूर्वसहमतिलाई लत्याएर एकलौटी गरिएको सो निर्णय स्वीकार्य नभएको उहाँले बताउनुभयो ।