१३ बैशाख २०८१, बिहीबार

सेयर लगानी विवादमा भिनाजुको हत्या

salo

धनुषा जिल्लाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकको सालोलाई सार्वजनिक गरेको छ ।

सेयरको विवादमा आफ्नो भिनाजुको हत्या गरेको आरोपमा पक्राउ परेका सालोलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खाती रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रमाणको आधारमा मृतकका सालो निरज खातीलाई पक्राउ गरी जिल्ला आदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

डिस्टिलरीका सञ्चालक ५४ वर्षीय प्रमोद रेग्मी गत माघ १४ गते बिहान आफू सुत्ने कोठामा मृत फेला परेका थिए ।

प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा आफ्नै श्रीमतीको सहोदर भाइले हत्या गरेको खुलेको रानाभाटले बताए । खातीले सेयर लगानीसम्बन्धी विषयमा रिसिबी राखी आफ्नो भिनाजुलाई अत्यधिक मदिरा सेवन गराई बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक बयानमा खुलेको रानाभाटले बताए ।

रेग्मीको शव परीक्षण गर्दा टाउकोमा गम्भीर चोट लागेको र शरीरबाट अत्यधिक रक्तश्राव भई मृत्यु भएको पोष्टमार्टम रिर्पोटबाट खुलेको प्रहरीले बतायो ।

घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरी मृतकको सालोलाई प्रमाण सहिँत पक्राउ गरी आदालत समक्ष बुझाएको जनाईएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ७ टुहाडे टोल स्थायी ठेगाना भएका रेग्मी धनुषामा चारजनासँग मिलेर डिस्टिलरी सञ्चालन गर्दै आएका थिए ।