१५ चैत्र २०८०, बिहीबार

दाउरा बिक्री गर्ने बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग

Dane bohara Simkot RSS

हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयाको चुकेडी गाउँमा रहेका दाउरा बिक्री गर्ने बालबालिकालाई पत्रकार राजेन्द्र बानियाँले सहयोग गर्नुभएको छ । यही माघ २३ गते परेको हिमपातपछि माघ २४ गते कापी, कलमलगायत घरखर्च चलाउनका लागि बाक्लो हिउँमा दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका बालबालिकालाई पत्रकार बानियाँले आज सहयोग गर्नुभएको हो ।

माघ २५ गते ‘घरखर्च चलाउन दाउरा बेच्दै’ शीर्षक समाचार र तस्वीर प्रकाशन भएपछि पत्रकार बानियाँले ती बालबालिकाको दुःख देखेर रु ३० हजार रासस समाचारदाता दाने बोहरालाई पठाउनुभएको थियो । सो रकमबाट १, ३, ४ र ५ कक्षामा अध्ययनरत बालबालिकालाई एक वर्षका लागि पुग्ने १४ प्रकारका शैक्षिक सामग्री किनेर हस्तान्तरण गरिएको हो । बालबालिकालाई कापी, कलम, ज्यामिति बक्स, क्याल्कुलेटर, रङ, डटपेन, सिसाकलम, सामान्यज्ञानको पुस्तक, खेल सामग्री, झोला, जुत्ता, विद्यालय पोशाकलगायत सामान दिइएको हो ।

हुम्ला उच्च हिमाली भएकाले त्यो दिन हिउँ बाक्लो परे पनि ती बालबालिकाले आफ्नो खर्च चलाउनका लागि दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका थिए । ती बालबालिकाका साथै वडा नं ७ डाँडाफया गाउँका प्रायः सबै बालबालिका आफ्नो खर्च चलाउनका लागि सार्वजनिक बिदाको दिन र शनिबार दाउराको भारी बोकेर सिमकोट आउने गरेका छन् ।

गाउँबाट सदरमुकाम सिमकोट पुगेका बालबालिकाले एक भारी दाउराको रु पाँच सयदेखि रु एक हजारसम्ममा बिक्री गरेर बेलुका घर फिर्ता हुने गर्छन् ।

आफ्ना बालबालिकालाई शैक्षिक सामग्रीदेखि अन्य सहयोग गरेकामा अभिभावक पिउली सुनारले धन्यवाद दिनुभयो । सामग्री पाउँदा बालबालिकाले खुशी भई पत्रकार बानियाँलाई धन्यवादसमेत दिएका छन् ।