१५ चैत्र २०८०, बिहीबार

कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई अविलम्ब पक्राउ गर्न माग

bhagirathi

नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषी पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई दुःखद्रूपमा लिएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत उक्त घटनाको अनुसन्धान तीव्र बनाउन, दोषीलाई अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग गर्नुभएको छ ।

शान्ति स्थापना र संविधान निर्माणपश्चात मुलुकमा अमनचयन स्थापना हुने र नागरिकको जीवन सुरक्षित बन्ने भन्ने विश्वास लिइए पनि यस्ता घटना भइरहनु गम्भीर चिन्ताको विषय बनेको विज्ञप्तिमा जनाइको छ ।

निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका तथा भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै रहेको उल्लेख गर्दै कांग्रसले शान्ति सरक्षाका लागि प्रशासन संयन्त्रलाई थप चुस्त बनाउन अपिलसमेत गरेको छ ।

यसै क्रममा बैतडी घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा पार्टीले केन्द्रीय सदस्य रमेश लेखकलाई बैतडी पठाएको जनाएको छ ।