२३ बैशाख २०८१, आईतवार

प्रचण्ड–नेपाल ‘गोप्य सहमति’ : तुम्बाहाङ्फेले राजीनामा नदिए समानुपातिकबाट हटाउने

Shibamaya Tumbahanfe

उपसभामुख शिवमाया तुम्बाहाङ्फेकै माग अनुसार केन्द्रीय सचिवालयबाट सभामुख उम्मेदवार चयनपछि पनि राजीनामा नआए संवैधानिक र कानूनी विकल्पबाट अघि बढ्ने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल चलेको छ ।

आइतवार उनीहरूले केही निकटस्थ कानून व्यवसायीसँग गोप्य कुराकानी समेत गरेको स्रोतले जनाएको छ ।

कानूनी व्यवस्था अनुसार कुनै पनि दलले आफ्ना समानुपातिक सांसदको नाम सूचीबाट हटाउन सक्ने भएकाले संसद बैठक बस्नु अगावै उनलाई सांसद पदबाट हटाएपछि उपसभामुख पद स्वतः रिक्त हुने र सभामुखसहित दुवै पद रिक्त भएको अवस्थामा नेकपाले सभामुख पद जोगाउन सक्ने कानून व्यवसायीले सुझाव दिएका छन् ।

‘उनीहरूबीच सभामुख पद जोगाउन सबै विकल्प अपनाउने सहमति भएको छ,’ प्रचण्डलाई उदृत गर्दै एक नेताले भने, ‘पार्टी निर्णयलाई नै चुनौती दिने व्यक्तिलाई सभामुखमा निर्वाचित गर्ने हो भने केपी ओलीबाहेक कोही प्रधानमन्त्री हुनुभयो भने संसदमा बिल पास गराउन कसरी सहयोग गर्नुहोला भन्ने गम्भीर प्रश्न उठेकाले धम्क्याउने, निहुँ खोज्ने व्यक्तिलाई उम्मेदवार बनाउन सकिँदैन भन्नेमा उहाँहरू प्रस्ट हुनुहुन्छ ।’

नेपालनिकट एक नेताका अनुसार तुम्बाहाङ्फेले पार्टी निर्णयलाई चुनौती दिएकाले उनीबाहेकको विकल्पबाट छिटो उम्मेदवार छान्नुपर्ने समझदारी प्रचण्ड–नेपालबीच भएको छ । तुम्बाहाङ्फेबाहेक सभामुखमा पूर्व एमाले समूहबाट सुवासचन्द्र नेम्वाङ तथा माओवादी समूहबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।

सभामुख उम्मेदवार टुंग्याएपछि उपसभामुखले चाल्ने कदमका आधारमा अघि बढ्न सहज हुने दुवै नेताको बुझाइ रहेको ती नेताले बताए । ~ नयाँ पत्रिका