१६ चैत्र २०८०, शुक्रबार

दोस्रो पटक पनि राजीनामा दिन अस्वीकार, शिवमायाले भनिन्-राजीनामा दिन्न, जे गर्ने हो गर्नुस्

Shibamaya Tumbahanfe

सत्तारूढ नेकपाले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएपनि उनले राजीनामा नदिने बताएकी छिन् ।

तुम्बाहाम्फेले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई दोस्रो पटक पनि अस्वीकार गरेकी छन् । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।

तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै राजीनामा नगर्ने प्रष्ट गर्नु भएको छ । उनलाई सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाएका थिए । तर उपसभामुखले राजीनामा दिन्न भनेर बालुवाटारबाट हिँडेकी हुन् ।

दुवै अध्यक्षले तपाईं राजीनामा दिएर निकास दिनुस भन्नुभयो । अहिलेसम्म सभामुख कसलाई बनाउने भनेर व्यक्तिमा छलफल भएको छैन । बाहिर आएका हल्लाको कुनै अर्थ छैन । तर उपसभामुखले म राजीनामा दिन्न भनेर हिँडेपछि अब फेरि सम्झाउनुपर्ने भएको छ । परिस्थिति अलि पेचिलो बन्यो ।

सचिवालयको बैठकको निर्णयसमेत उनले नमानेपछि विहानै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव बिष्णु पौडेल पनि छलफलमा थिए । उपसभामुखलाई बोलाएरै छलफल गर्दा पनि निकास दिन नमानेपछि नेकपा नेतृत्व संकटमा परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुखले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ । उनलाई अन्तिम पटक सम्झाउने तयारी छ । अहिले उनलाई सभामुख नबनाउने निर्णय नभएकाले राजिनामा दिएर निकास दिनुपर्ने नेतृत्वको भनाइ छ ।

तुम्बाहाम्फेले राजीनामा दिएपछि मात्र नेकपाबाट कसलाई उम्मेदवार बनाउने भनेर छलफल हुने नेताहरुले बताए । राजीनामा नदिएमा नेकपा सामु तीनवटा विकल्पमात्र छन् । तीमध्ये पहिलो विकल्प उनैलाई सभामुख बनाउने निर्णय गर्ने र राजीनामा गराउने हो ।

यस अघि तुम्बाहाम्फेले शुरुमा आफ्नो पीएचडीको थेसिस पुस्तकमा हस्ताक्षर गरेर दुवै नेतालाई उपहार दिएकी छन् ।  शिवमायाले ओली र प्रचण्डसमक्ष १२ बुँदे योग्यता सूची पेश गरिसकेकिछन् । नत्र समानुपातिक सांसदको सूचीबाट उनको नाम हटाउन पार्टीले निर्वाचन आयोगलाई पत्र लेख्ने । अन्तिम विकल्प चाहिँ महाअभियोग हो । तुम्बाहाम्फेले आफूलाई महाअभियोग लगाएर हटाउनसमेत चुनौती दिइसकेकी छन् ।

नेकपाका नेताहरु त्यति परसम्म सोच्न आवश्यक नरहेको बताउछन् । शिवमाया लामो राजनीतिक इतिहास भएकी नेता हुनाले उनले पार्टीको निर्णय मानेर राजीनामा दिने आशा व्यक्त गरेका छन् ।