७ बैशाख २०८१, शुक्रबार

कृषिमन्त्री अर्यालसँग इजरायली राजदूतको भेटवार्ता

padma aryal
फाइल फोटो

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच सिंहदरबारमा एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सका विषयमा छलफल भएको छ । छलफलमा मन्त्री अर्यालले नेपाली कृषकलाई इजरायली प्रविधिको तालीम÷प्रशिक्षणको व्यवस्था हुनसके नेपालको कृषि क्षेत्रमा थप उपलब्धि हुने धारणा राख्नुभयो । इजरायल सरकारले ‘कमाउ र सिक’को अवधारणा मुताविक प्रतिवर्ष पाँच हजार नेपाली विद्यार्थीलाई प्रतिवर्ष इजरायलमा ११ महिने तालीमको अवसर प्रदान गर्दै आएको छ ।

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने विभिन्न प्रकारका तालीम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा नेपाल र इजरायल सरकारका प्रतिनिधिबीच २०७७ असोज १४ गते सम्झौता भएको थियो । तालीम कार्यक्रमलाई अगाडि बढाउन नेपालका तर्फबाट सहसचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने इजरायलले आफ्नो प्रतिनिधि छनोट गरिसकेको छ । नेपालबाट रोजगारी एवं अन्य सिलसिलामा तीन हजार नेपाली इजरायलमा छन् ।

राजदूत गोडरले इजरायलको प्राविधिकि सहयोगमा सञ्चालन हुन गइरहेको नेपाल–इजरायल सहयोग कार्यक्रम सफल बनाउन इजरायल सरकारकोतर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताउनुभयो । नेपाल सरकार र इजरायल सरकारद्वारा संयुक्तरुपमा सञ्चालन हुने उक्त कार्यक्रमले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।