७ बैशाख २०८१, शुक्रबार

कमजोर छैन भन्ने पुष्टि गर्‍याे एमालेले जनमत घटेन- सचिव अर्याल

padma aryal
फाइल फोटो

नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गरेकी छिन् । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उनले बताइन् ।

तर, सिट सङ्ख्या भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको उनको भनाइ छ ।

‘गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन हुन सक्दैन । सबै दल आ–आफ्नै धरातलमा उभिएको भए कसको कति जनमत भन्ने नाप्न सकिन्थ्यो तर एमाले भने एक्लै लड्यो र जनमत निर्धारण भयो । यसले एमाले कमजोर छैन भन्ने पुष्टि गर्‍याे। तर, स्वाभाविक रूपमा पाँच दल गठबन्धन भएर लड्ना हाम्रो सिट सङ्ख्या केही कम भयो’, सचिव अर्यालले न्युज कारखानासँग भनिन् ।

पाँच दलले एमालेलाई हराएर कमजोर पार्ने रणनीति लिएको र उक्त रणनीति भने सफल नभएको पनि बताइन् ।

‘निर्वाचन परिणाम सोचेभन्दा फरक भइरहेको छ । पार्टीले समीक्षा छ गर्छ नै’, अर्यालले भनिन्, ‘तर, के हो भने पाँच दलको योजना त एमालेलाई हराउने र कमजोर बनाउने भन्‍ने थियो । त्यो सफल भएन ।’

सचिव अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली वाम एकताविरोधी नभएको पनि दाबी गरेकी छिन् । एजेन्डा मिल्ने र राष्ट्रिय एकताको पक्षधरसँगै एमालेसँग सहकार्य गर्न चाहने शक्तिलाई एकताको ढोका खुला रहेको अर्याल बताउँछिन् ।