७ बैशाख २०८१, शुक्रबार

काटिएको अवैध काठ बरामद

wood logs scaled

डिभिजन वन कार्यालय दैलेखले अवैध ढंगबाट काटिएका सालको काठ बरामद गरेको छ । तीन हप्ताका अवधीमा कार्यालयले एक सय २५ क्यू फिटभन्दा बढी चिरान र गोलिया काठ बरामद गरेको हो । कार्यालयले माघ पहिलो साता (माघ ५ गते) एक सय २४ थान अर्थात ६५ ।२९ क्यू फिट चिरान काठ बरामद गरिएको जनाएको छ । ती काठ आठबीस नगरपालिका–१ नौखालबाट बरामद गरिएको कार्यालयका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले नेपाल घटना संग बताउनुभयो ।

ट्याक्टरमा लोड गरी ओसार पसार गरिरहेको अवस्थामा प्रहरी चौकी पाल्तडाको प्रहरी टोलीले काठ बरामद गरेको रावतले बताए । अवैध रुपमा सालको काठ ओसार पसार गर्ने चार जना माथी अनुसन्धान थालिएको डिभिजनल वन अधिकृत रावतले बताउनुभयो ।

यस्तै माघ तेस्रो साता चामुण्डा विन्द्रासैनी नगरपालिका–३ स्थित चौतारा स्याउले सामुदायिक वनबाट २० थान सालको चिरान काठ बरामद गरिएको थियो । वन कार्यालयका कर्मचारी र समुहका वन हेरालुको संयुक्त टोलीले १६ क्यू फिट चिरान काठ बरामद गरेको बताईएको छ । सोहि ठाउँबाट ५ थान अर्थात २६ ।७१ क्यू फिट गोलिया काठ बरामद गरिएको डिभिजनल वन अधिकृत रावतले जनाकारी दिए ।

वनमा लुकाई छिपाई राखेको अवस्थामा सालको काठ बरामद गरिएको हो । अवैध रुपमा सालको काठ राखेको आरोपमा सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष समेत रहेका मनबहादुर विक पक्राउ परेका थिए । उनी माथी थप अनुसन्धान भईरहेको वन कार्यालयले जनाएको छ । जिल्लाभरीको बाटोको निगरानी राखिरहेको डिभिजन वन कार्यालयले नारायण नगरपालिका–७ किमुगाउँबाट समेत सालको काठ बरामद गरेको जनाएको छ ।