१३ बैशाख २०८१, बिहीबार

दैलेखमा किशोरीहरुलाई आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम

dailekh self defense 2

देशमा घटिरहेका बलात्कारका घटनाहरु प्राय चिनेजानेका र आफ्नतबाट हुने गरेको धेरै उदारणहरु छन् ।

दैलेखमा गत मंसिर तेस्रो साता १४ बर्षीया बालिका आफ्नै बावुबाट बलात्कृत भईन् । नारायण नगरपालिकाकी ती बालिकालाई आफ्नै ३८ बर्षीया बाबुले घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यो घटनाको एक महिना नपुग्दै नारायण नगरपालिकाकै पाँच बर्षीया बालिका बलात्कारको सिकार भईन् । छिमेकी ३५ बर्षीया पुरुषले घरमा कोही नभएको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै पुष अन्तिम साता मात्रै उस्तै प्रकृतिको घटना दोहोरियो । सुर्खेत घर भएकी १४ बर्षीया बालिका गुराँस गाउँपालिकास्थित सेरीमा बलात्कृत भइन् । २० बर्षीया युवकले उनिमाथी जबरजस्ती करणी भएको प्रहरीले जनाएको थियो ।

उल्लेखित घटनाहरु केहि प्रतिनीधिमुलक घटना मात्रै हुन् । पछिल्लो समय दैलेखका छोरीहरु आफन्त र छिमेकीबाटै बलात्कारको शिकार बन्ने क्रम बढ्दै गएको छ । बालिका तथा किशोरीहरु आफन्तबाटै असुरक्षित बन्दै गएको परिस्थितिमा दैलेखमा मात्र पछिल्लो ६ महिनायता ७ वटा बलात्कारका घटना प्रहरीसम्म आईपुगेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले नेपाल घटनालाई जानकारी दिए ।

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरु रोकथामका लागि आठबीस नगरपालिकाका बालिका तथा किशोरीहरुलाई आत्मरक्षा (सेल्फ डिफेन्स)तालिम दिईएको छ । बालिका र किशोरीलाई यौन हिंसाको प्रतिकार गर्दै आफ्नो सुरक्षाको लागि आत्मरक्षा तालिम दिइएको हो । नगरपालिकाका १७ सामुदायिक विद्यालयका ६६ जना बालिका तथा किशोरीहरुलाई तालिम प्रदान गरिएको छ ।

तीन दिनसम्म दिईएको तालिममा बालिका तथा किशोरीहरुले यौन हिंसा तथा दुव्र्यवहार भएमा वा कसैले बलात्कारको प्रयास गर्न खोजे प्रतिकार गर्ने उपाएहरु सिकाईएको छ । बालिका तथा किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने सेल्फ डिफेन्सका सातवटा उपायहरु सिकाईएको बालिका र किशोरीलाई तालिमको सहजिकरण गर्दै आएकी सजना सुनारले बताइन् ।

उनले एक्लै हिँडडुल गर्दा कसैले जबरजस्ती गर्न खोजे त्यसबाट बच्ने तरिकाहरू सिकाइएको सुनारले जानकारी दिइन् ।

नगरपालिकाले स्कुले बालिका तथा किशोरीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरेको हो । पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीहरुलाई आत्मरक्षाको सिपहरु सिकाएको आठबीस नगरपालिका उपप्रमुख दीपा बोहराले बताइन् । ‘बालिका तथा किशोरीहरु आफन्त, छिमेकी तथा नातेदारबाटै असुरक्षित छन्, उनिहरुको सुरक्षालाई मध्यनजर गर्दै आत्मसुरक्षा तालिम दिएका हौ,’ उपप्रमुख बोहराले भनिन् ‘तालिम सिकेका बालिका तथा किशोरीहरुले आ–आफ्नो स्कुलका अन्य बालिका तथा किशोरीहरुलाई सिकाउनेछन् ।’

बालिका, किशोरी र महिलाहरुमा आत्मविश्वासको कमीले पनि हिंसादेखि बलात्कारसम्मको शिकार हुने भएकाले उनिहरुमा आत्मविश्वास जगाई आत्मरक्षा गर्ने विधि सिकाईएको उपप्रमुख बोहराको भनाई छ । बालिकामाथि हुने यौन हिंसा नियन्त्रण गर्न आत्मरक्षा तालिम फलदायी हुने उपप्रमुख बोहराको दाबी छ ।

आत्मसुरक्षा तालिम सिकेका किशोरीहरुले पहिला भन्दा आत्मविश्वास र सुरक्षित महशुस गरेको बताएका छन् । जनज्योती मावीमा अध्ययनरत निशा शाही भन्छिन् ‘कसैले यौन हिंसा तथा दुर्व्यवहारको प्रयास गरे प्रतिकार गर्न सक्ने सीप जानेका छौँ, यो सीप अरूलाई पनि सिकाउछौँ ।’