७ बैशाख २०८१, शुक्रबार

धान भण्डारण गृह निर्माण हुँदै

Dhan Godam

इलाम, यहाँस्थित चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो । गत पुसको पहिलो साताबाट निर्माण शुरु भएको भण्डारण गृह यही माघसम्ममा सकिने छ । सञ्चालक समिति चुलाचुली र ज्ञान केन्द्रको ५०/५० प्रतिशत खर्चमा बन्ने भवनको कूल लागत रु १२ लाख ३८ हजार हो । चुलाचुली इलामकै बढी धान उत्पादन हुने क्षेत्र हो । किसानलाई सर्वसुलभ मूल्यमा धान बेच्नका लागि भण्डारण गृह आवश्यक परेको हो ।

यहाँका किसानले झापा र मोरङमा धान बेच्छन् । ठूलो परिमाणमा एकैपटक बेच्दा बढी मूल्य पर्नाले भण्डारण गृह आवश्यक परेको उपभोक्ता समिति चुलाचुलीका संयोजक त्रिलोचन गौतमले बताउनुभयो । सहकारीमार्फत यहाँका किसानले धान बिक्री गर्छन् । भण्डारण गृह निर्माणपछि धान केलाउन र गे्रडिङ गर्न सहज हुने गौतमले जानकारी दिनुभयो । भण्डारण गृह एकतले र तीनकोठे हुनेछ । झापा र मोरङका विभिन्न स्थान लगेर यहाँका किसानले धान बेच्ने गरेका छन् । धानमात्र होइन भण्डारण गृहमार्फत धान पेलेर चामल बेच्ने प्रबन्ध पनि मिलाउँदै गरेको संयोजक गौतमको भनाइ छ ।

इलामकै अन्न खानी भनेर चिनिने यो क्षेत्र झापा जिल्लाको सीमावर्ती जिल्ला हो । तराईको फाँट भएकाले पनि यहाँका ९५ प्रतिशत किसानले धानखेती गर्छन् । इलामको तल्लो भेग भएकाले जिल्लास्थित ज्ञान केन्द्रमार्फत पाउने सुविधा नपाउने गरेको यहाँका किसानको गुनासो छ तर पछिल्लो समय केन्द्रकै अगुवाइमा यस्ता काम हुन थालेपछि किसान केही सकारात्मक देखिन थालेका छन् । गएको वर्ष पनि ज्ञान केन्द्रले यहाँका किसानलाई धान बोक्ने ट्र्याक्टर वितरण गरेको थियो ।

“धान भए धान नै, नभए चामल बनाएरै बेच्ने व्यवस्था पनि गरिने छ”, कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भन्नुभयो, “खलामै गएर किन्ने व्यवस्था पनि छ । यसले गर्दा किसानलाई बढी नाफा हुन्छ ।”

मल र सिँचाइको व्यवस्था नहुँदा सकस

सिँचाइ र मलको सुविधा नपाउँदा यहाँका किसानले अपेक्षाकृत धान उत्पादन गर्न सकेका छैनन् । विशेषगरी गाउँपालिकाको माथिल्लो क्षेत्रका किसानको सिँचाइमा पहुँच पुगेको छैन । खोलाको पानी कुलोबाट ल्याउन सम्भव छैन । डिपबोरिङमार्फत पानी ल्याउनुपर्ने हुन्छ तर ठूलो खर्च लाग्ने भएकाले किसानले सिँचाइका लागि पानी ल्याउन सकेका छैनन् ।

सिँचाइको सुविधा मात्र पूरा भए धान उत्पादनमा उल्लेखनीय सुधान आउने समितिका संयोजक गौतमको भनाइ छ । यस्तै अन्य क्षेत्रमा जस्तै यहाँका किसान पनि धानमा प्रयोग गरिने रासायनिक मल प्रयोग गर्नबाट वञ्चित छन् । मल लगाउने समयमा नपाइँदा उत्पादन ह्रास आउने गरेको छ ।