११ बैशाख २०८१, मंगलवार

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि

Bimalendra Nidhi
फाइल फोटो

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताउनुभएको छ । उहाँले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पार्नुभयो ।

कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचन मार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्यमबाट प्राप्त भएको प्रतिनिधि सभाले मात्र राजनीतिक सङ्कटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बटो संवैधानिक, लोकतान्त्रिक र राजनीतिक सम्मत रहेको प्रष्ट पार्नुभयो । पूर् वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पीडित भए पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा सहभागी कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरी सरकारले जनताले दिएको मतको अपमान गरेको बताउनुभयो ।

उहाँले बहुमत प्राप्त भएको सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने संविधानमा कुनै व्यवस्था नभए पनि वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गरी आमनेपाली जनताले दुई तिहाइ नजिक दिएको मतको अपमान गरेको धारणा व्यक्त गर्नुभयो ।

कांग्रेस बुथ कमिटी बगहीका अध्यक्ष सरजुग महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुलाह मन्सुर, सदस्य अजयकुमार चौरसिया, गगन थापालगायतका नेताले पद, पैसा र प्रतिष्ठानको लोभका कारण मुलुक राजनीतिक संवैधानिक सङ्कटमा फसेकोे बताउनुभयो । उहाँहरूले नेकपाभित्रको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा विभिन्न आन्दोलन र हजारौँको शहादतबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई नै धरापमा पारेको बताउनुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकालाई उपसभापति निधिले स्वागत गर्नुभएको थियो ।