१४ बैशाख २०८१, शुक्रबार

पत्रकार डेकेन्द्र थापाको हत्याका फरार अभियुक्त पक्राउ

dekendra thapa killer arrested

दैलेख प्रहरीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पत्रकार थापाको हत्यामा संलग्न रहेका महाँबु गाउँपालिका–६ दैलेखका ६८ बर्षीया जयबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । उनलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । जिल्ला अदालत दैलेखले पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै उनलाई समेत दोषी ठहर गरेको थियो । अदालतको फैसला अनुसार शाहीले ४ महिना २९ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको डिएसपी श्रेष्ठले नेपाल घटनालाइ जानकारी दिएका छन् ।

पक्राउ परेका शाहीलाई दैलेख जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । तत्कालीन बिद्रोही नेकपा माओवादीले २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेको थियो ।

द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्ने भन्दै वार्ताका लागि गएका डेकेन्द्र थापालाई नौमुले गाउँपालिका वडा नं ३ (साबिकको द्धारी गाविस–१ मा २०६१ साल साउन २७ गते हत्या गरिएको थियो ।

थापालाई नौमुलेबाट तत्कालीन माओवादीले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर निर्मम तवरले मारिएका र उनको शव द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो । माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन। त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।