२३ बैशाख २०८१, आईतवार

गुणस्तरीय स्टिम जिरा चामल हुम्लामा

1803294986rice chamal

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्ला जिल्लामा पहिलोपटक स्टिम जिरा चामल आपूर्ति गरेको छ । जिरा चामल लिमिटेडको हुम्ला शाखाको प्रयासमा जिल्ला पुगेको हो । पहिलोपटक कर्णालीका साविकका जिल्लामा भित्रिएको स्टिम जिरा चामल जिल्लामा पनि आइपुगेको लिमिटेड हुम्ला शाखाका निमित्त कार्यालयप्रमुख भरत अधिकारीले बताउनुभयो ।

राम्रो गुणात्मक चामल ल्याउन शाखाले निकै प्रयास गर्नुपरेको उहाँले बताउनुभयो । उक्त चामल शहरी तथा सुगमका जिल्लामा मात्र यसअघि जाने भए पनि अहिले भने लिमिटेडका सबैभन्दा बढी खाद्यान्न आपूर्ति हुम्लामा भएको छ । लिमिटेडले जनतालाई प्रतिकेजी रु ८२ र कर्मचारीलाई प्रतिकेजी रु ८५ मूल्य निर्धारण गरेको छ ।

हुम्लामा पहिलोपटक आइपुगेको चामल बिक्री पनि शुरु गरिएको लिमिटेडले जनाएको छ । हालसम्म यो चामल सुर्खेत नेपालगञ्जबाट ६३८ क्विन्टल आइपुगेको र अरू पनि आउने क्रम जारी रहेको अधिकारीले जानकारी दिनुभयो ।

यसअघि हुम्लामा उसिना, अरुवा र जापानिज चामलमात्र आउने गरे पनि यो पटक अलि स्वादिष्ट हुने चामल पुगेको अधिकारीले बताउनुभयो ।