१३ बैशाख २०८१, बिहीबार

बेनी खानेपानीमा नयाँ नेतृत्व

beni khanepani

म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न २१ आँै वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा रमेश गिरी, सचिवमा राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा टङ्क हमाल चयन हुनुभएको छ । सदस्यमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा, सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

उहाँले संस्थाले बजारवासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा यस संस्थाले बेनी नगरपालिका, ७ र ८ बेनी बजार र वडा नम्बर २ हाँडेभिर क्षेत्रमा गरी एक हजार ६७ घरधुरीका करिब २० हजार जनसङ्ख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले संस्थाको सम्पूर्ण पक्षको बारेमा सचिव गिरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच साधारणसभाले खानेपानीको महशुल शुल्कको समेत नयाँ दररेट निर्धारण गरेको छ । प्रतिमहिना १० युनिटसम्म न्यूनतम रु २२० शुल्क निर्धारण भएको छ । एघारदेखि २० युनिटसम्म प्रतियुनिट २४, २१ देखि ३० युनिटसम्म प्रतियुनिट रु २६, ३१ देखि ४० युनिटसम्म प्रतियुनिट रु २८, ४१ देखि ५० युनिटसम्म प्रतियुनिट रु ३० र ५१ युनिटदेखि माथि प्रतियुनिट रु ३२ का दरले शुल्क निर्धारण भएको कार्यालयका प्रबन्धक यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।