१४ बैशाख २०८१, शुक्रबार

काँग्रेसको चुनावी सरगर्मी बढ्यो

KK Beni Nepalicongress1 1024x682 1

बेनी । नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ ।

पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यति बेला नेपाली काँग्रेसभित्रको माहौल निर्वाचनमय बनेको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन कार्य तालिका अनुसार यही भदौ १८ गते वडा तहको अधिवेशन हुँदैछ । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा नयाँ नेतृत्व पाउने भएकाले यति बेला म्याग्दी काँग्रेसका नेता तथा कार्यकर्ता उत्साही देखिएका छन् ।

पूर्वनिर्धारित कार्य तालिका अनुसार देशभरका सबै वडामा यही भदौ १८ मा काँग्रेसको नेतृत्व चुनिनेछन् । वडामा चुनिने नेतृत्वसँगै पालिका, प्रदेश र जिल्ला अधिवेशनमा भाग लिन पाउने प्रतिनिधिसमेत छनोट हुने भएकाले जिल्लाको नेतृत्वदायी पदमा आकाङ्क्षी देखिएका नेतासमेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् ।

पार्टी केन्द्रले म्याग्दीमा तोकिएका जिल्ला मुख्य निर्वाचन अधिकृत नीरञ्जनराज भण्डारी निर्वाचन सामग्रीसहित जिल्लामा आएर आवश्यक तयारी सुरु गरिसक्नुभएको छ ।

म्याग्दी काँग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक सङ्घमा आबद्ध शिक्षकलाई परिचालन गर्ने निर्णय गरेको र सोही बमोजिम वडा वडामा तयारी सुरु भइसकेको जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

‘‘पार्टीको तर्फबाट सम्बन्धित तहका नेता, कार्यकर्तालाई जानकारी गराउने काम भइसकेको छ, पार्टी केन्द्रबाट क्रियाशील सदस्यता टुङ्गिएर आइसकेको छ, मुख्य निर्वाचन अधिकृतले वडामा परिचालन हुने शिक्षकलाई आवश्यक प्रशिक्षण र सहजीकरण गरेपछि आवश्यक सामग्रीसहित सबै वडामा निर्वाचन टोली परिचालन हुन्छन्’’– उहाँले भन्नुभयो ।

जिल्ला बाहिर रहेका पार्टीका नेतासमेत वडा अधिवेशनका लागि गाउँ फर्किएपछि चहलपहलसमेत बढेको छ । वडा तहमा निर्वाचन अधिकृतको टुङ्गो लगाइसकिएको र उहाँहरूलाई पार्टीको जिल्ला नेतृत्व र निर्वाचन अधिकृतमार्फत आवश्यक निर्देशनसहित निर्वाचन सामाग्रीसहित परिचालनको तयारी भएको पार्टीका जिल्ला सहसचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।

म्याग्दीमा वडा अधिवेशनमा कूल दुई हजार ८३९ जनाले भाग लिन पाउने छन् । पार्टी केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यको विवरण अनुसार, म्याग्दी काँग्रेसमा पुराना नवीकरण भएका एक हजार ८४ र नयाँ थप भएका एक हजार ७५५ जना क्रियाशील सदस्यले मात्रै वडामा उम्मेदवार र नेतृत्व चयनमा मतदानको अधिकार पाउने जिल्ला पार्टी प्रवक्ता अजयमिलन श्रेष्ठले बताउनुभयो ।

काँग्रेसले सार्वजनिक गरेको क्रियाशील सदस्यता विवरणअनुसार, बेनी नगरपालिकामा एक हजार ५४, रघुगङ्गा गाउँपालिकामा ४२१, अन्नपूर्ण गाउँपालिकामा ३५८, मङ्गला गाउँपालिकामा ४५९, मालिका गाउँपालिकामा २७७ र धवलागिरि गाउँपालिकामा २७९ जना क्रियाशील सदस्य रहेका छन् ।

हरेक वडामा हुने अधिवेशनका लागि सहमतिमा सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने र सहमति नभएमा चुनावबाट चुन्ने गरी निर्वाचन समितिले तयारी गरेको छ ।

काँग्रेसमा नयाँ संरचनामा पहिलो पटक हुन लागेको महाधिवेशनमा वडा, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला समितिमा समेत अधिकांश पद प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ । तीनै तहमा सभापति एक, उपसभापति, सचिव र सहसचिव दुई–दुई जना प्रत्यक्ष निर्वाचित हुने र निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनीत गर्ने गरी पदाधिकारीको छनोट गर्ने नयाँ प्रावधान राखिएको छ ।

वडा अधिवेशनले वडाका ८ पदाधिकारी र सदस्यसमेत गरी २३ जनाको कार्यसमिति चयन गर्नेछ । यसमा वडा सभापतिले २० प्रतिशतसम्म सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

त्यसैगरी वडाबाट पालिका, प्रदेश निर्वाचन र जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा १५ र सभापतिसमेत गरी १६ जनालाई प्रतिनिधिको रुपमा छनोट हुनेछन् ।

वडाबाट छनोट भएका निर्वाचन प्रतिनिधिले पालिका र प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनमा भाग लिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पालिका, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि वडाबाट चुनिने प्रतिनिधि नै निर्णायक हुने भएकाले यति बेला वडा स्तरमा व्यापक बहस र छलफलले व्यापकता पाएको छ ।

आगामी नेतृत्वका लागि जिल्लामा स्पष्ट दुई धारमा प्रतिस्पर्धा हुने सङ्केत देखिएपछि दुवै पक्षले आफ्नो पक्षका नेता कार्यकर्तालाई प्रतिनिधिमा जिताएर ल्याउन आन्तरिक कसरत सुरु गरेका छन् । यस अघिको तत्कालीन गाविसमा समिति र प्रतिनिधि चयनमा घतान, घार, राम्चे, भकिम्लीलगायतका ठाउँमा केही पदमा निर्वाचन भए पनि अधिकांश गाउँ स्तरीय समितिमा सर्वसम्मत रुपमा नेतृत्व र जिल्ला प्रतिनिधि चुनिने गरेका छन् ।

यस पटक जिल्लामा काँग्रेसको बढ्दो शक्तिका कारण वडा तहमा निर्वाचन हुनसक्ने कांग्रेसजनको आँकलन छ । काँग्रेसले गाउँ÷नगरको भदौ २८ गते, प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते र एक निर्वाचन क्षेत्र रहेका जिल्लाको असोज ५ गते अधिवेशनको कार्य तालिका बनाएको छ ।

काँग्रेसको जिल्ला नेतृत्वमा आधा दर्जनको दाबेदारी छ । वर्तमान सभापति खमबहादुर गर्वुजा(खमवीर), निवर्तमान सभापति एवं संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मीनबहादुर कार्की, पूर्व सह सभापति नेत्रबहादुर महत, महाधिवेशन प्रतिनिधि चीरञ्जवी शर्माले सभापतिमा दाबी गर्नुभएको छ ।

यद्यपि अधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षबीचमै पनि छलफल सुरु भएकाले अन्तिममा सहमति नभएमा वर्तमान सभापति गर्बुजा र निवर्तमान सभापति बानियाँको बीचमा मात्रै चुनाब हुनसक्ने आँकलन कांग्रेस नेता तथा कार्यकर्तामा छ ।

जिल्ला अधिवेशनले जिल्लाको नेतृत्वसँगै केन्द्रिय महाधिवेशनको लागि २५ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । रासस