६ चैत्र २०८०, मंगलवार

जीर्ण बन्दै उमाकुण्डः सुक्न थाल्यो पानीको स्रोत

जीर्ण बन्दै उमाकुण्डः सुक्न थाल्यो पानीको स्रोत

पशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको उमाकुण्ड जीर्ण हुँदै गएको छ ।

संरक्षणको अभावमा उमाकुण्डमा पानीको स्रोत समेत सुक्न थालेको छ । वराह पुराण लगायत ग्रन्थमा सत्ययुगमा भगवती उमाले महादेव स्वामी पाऊँ भनी यहाँ तपस्या गर्नुभएकाले यसको नाम उमाकुण्ड रहेको उल्लेख छ । उमाकुण्डको उत्तरतिरको भाग बग्दै गएपनि यसको संरक्षण हुन नसकेको नित्य यज्ञ गर्न भागवत सन्यास आश्रम एवं गुरुकुलबाट खटिनुभएका ब्राह्मण कमल गौतमले जानकारी दिनुभयो । “उमाकुण्ड संरक्षण एवं जीर्णोद्धारका लागि विसं २०७५ देखि तीन वर्षको अवधिमा पशुपति क्षेत्र विकास कोषमा पाँच वटा निवेदन मैले नै दर्ता गरिसकेँ, काम भएन, गत असारमा पनि पहिरो गयो, हामीले नै पर्खाल लगाएर टेको दिएका छौँ”उहाँले भन्नुभयो ।

पशुपतिनाथको मूल मन्दिरको वायव्य कोणमा रहेको उमाकुण्ड शिव पाञ्चायन अनुसार निर्माण भएको विश्वास गरिन्छ । पुरातात्विक महत्वको उमाकुण्डमा वास्तु विपरीत इशान कोणमा शौचालय निर्माण गरिएको छ । इशान कोणमा निर्माण गरिएको शौचालय पनि जीर्ण बनेको छ । तीन वटा शौचालयमध्ये दुईवटा जीर्ण भएर छिर्न नसकिने भएपछि बन्द गरिएको छ ।

एउटा शौचालय भने उमाकुण्डमा विसं २०१६ देखि विधिवित् यज्ञ सञ्चालन गर्दै आएको स्वर्गद्वारी आश्रमको सक्रियतामा निर्माण गरेर सञ्चालन भइरहेको छ । उमाकुण्ड क्षेत्रमा यो बाहेक अरु शौचालय नभएकाले महाशिवरात्रि, साउन महिना, तीज, बाला चतुर्दशी लगायत लाखौँ भक्तजन आउने पर्वमा शौचालय खोज्ने भक्तजनको भीड लाग्छ ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा उमाकुण्ड पुनःनिर्माणको चरणमा रहेको बताउनुहुन्छ । आफुखुसी बनेका उमाकुण्डका धेरै संरचनाले पुरातात्विक महत्वको कुण्ड, शिवलिङ्ग ओझेलमा परेकाले एउटामात्र सत्तल बनाउने कोषको योजना छ । उमाकुण्ड क्षेत्रमा सार्वजनिक शौचालयसमेत बनाउने कोषको योजना रहेको जनाइएको छ ।