११ बैशाख २०८१, मंगलवार

नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की

hari krishna karki

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गर्ने गरेको बताउनुभएको छ ।

न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासँग सुझाव सङ्कलन गर्न सुर्खेत आइपुग्नुभएका न्यायाधीश कार्कीले आज सञ्चारकर्मीसँगको छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

“पछिल्लो समय मुद्दाको विषयमा सडकमा नारा जुलुस हुने गरेको छ, यसले न्यायाधीशमा त्रासको वातावरण सिर्जना गर्छ”, उहाँले भन्नुभयो, “अदालतले सडक बाहिर नभई प्राप्त मिसिल र कानून हेरेर फैसला गर्नुपर्ने हुन्छ ।” न्यायाधीश कार्कीले मुद्दा परिसकेपछि सडकमा नारा जुलुस गर्नुभन्दा अनुसन्धान प्रक्रियामा राज्यका निकायलाई सहयोग गर्न सरोकारवालालाई सुझाव दिनुभयो । “न्यायाधीशले मिसिलमा प्रमाण के छ ? त्यो हेरेर आदेश–फैसला दिनुपर्छ, पीडितको पक्षमा प्रमाण पर्याप्त छैन भने न्याय पाउने सम्भावना रहँदैन”, उहाँले भन्नुभयो ।

न्यायाधीश कार्कीले अदालतमा मुद्दा छिटो फैसला गर्न क्यालेन्डर लागू गरेको जानकारी दिनुभयो । कोभिड–१९ का कारण उक्त क्यालेन्डर प्रभावित भएको उहाँको भनाइ छ । कार्यक्रममा सञ्चारकर्मीले विपन्नलाई न्याय पाउन मुस्किल रहेको, न्यायालयमा कानून व्यवसायी र कर्मचारीको माध्यमबाट बिचौलिया हाबी भएका भन्दै यस्ता विकृति सुधार ल्याउन नसके अदालतप्रति जनविश्वास घट्ने सुझाव दिए ।

सर्वोच्च अदालतले यही साउन ३० गते वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा न्याय क्षेत्र सुधारसम्बन्धी प्रतिवेदन तयार गर्न समिति गठन गरेको थियो । समितिमा सर्वोच्चकै न्यायाधीश प्रकाशमानसिं राउत, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एकाइका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी लगायत सदस्य हुनुहुन्छ ।