७ बैशाख २०८१, शुक्रबार

प्रदेश ३ मा राजधानीको किचलो, बैठक अनिस्चितकालका लागी स्थगित

dormani paudel hetauda

नेकपा भित्रैका सांसदको कुराहरु नमिलेपछि प्रदेश ३ मा स्थायी राजधानी र नामाकरणको किचलो लम्बिदै गएको छ । नेकपा संसदीय दलको बैठक समेत अनिस्चितकालका लागि स्थगित भएको छ ।

मंगलवार विहान ११ वजे बैठक बोलाइएको थियो । सोमबार सम्ममा राजधानीको बिषय टुंगाउने भनि गत शुक्रबारबाट मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बैठक चलाइएको थियो तर ३ दिन लामो बैठकले कुनैपनि निर्णय गर्न सकेन । प्रदेशको नाम र राजधानी विषयमा निर्णय गर्नका लागि आज बस्न लागेको संसदीय दलको वैठक स्थगित भएको नेकपाका प्रमुख सचेतक रामेश्वर फुयालले जानकारी दिएका छन् ।

pradesh 3 sachiwalay hetauda

प्रदेश ३ को नामाकरणका विषयमा सवैजसो सांसदहरु सहमत भएपनि राजधानीका विषयमा नेकपा भित्रनै विवाद छ । तीन दिन सम्मको वैठकमा ६४ जना सांसदहरुले आफ्ना धारणा राखेपछी संसदीय दलको वैठक स्थगित भएको थियो ।

यसअघी तीन दिन सम्म वसेको संसदीय दलको वैठकमा केही सांसद तथा मन्त्रीहरुले आफ्ना धारणा राखीसकेपछी प्रदेशको नाम र राजधानीका विषयमा संसदीय दलले निर्णय गर्ने र त्यसपछी प्रदेश सभामा मतदान गर्ने भनीएको थियो ।

बुधवार दिउसो ३ वजे भित्रै नेकपा संसदीय दलको वैठक वस्न सकिने फुयालले वताएका छन् । यसै बिषयलाई लिएर पार्टी केन्द्रीय सचिवालयको निर्णय नमान्ने चेतावनी सांसदहरुले दिदै आइरहेका थिए ।

राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, शान्ति पौडेल, लक्ष्मण लम्साल, चन्द्र लामालगायतका नेकपाका नेताहरुले पार्टी निर्णय नमान्ने र फ्लोर क्रस गर्ने चेतावनी समेत दिएका छन् । सिन्धुली, मकवानपुर र चितवनका प्रदेशसभा सदस्यले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु पर्ने धारणा राखेका छन् । त्यस्तै सिन्धुली, मकवानपुर , चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, नुवाकोट, धादिङका केहि सांसदले पार्टीको निर्णय मान्नु नपर्ने धारणा राखेका छन् ।

सहमती जुट्न नसकेपछि र प्रदेश राजधानी र नामाकरणको विषयमा प्रदेशसभा सदस्यहरु विभाजित भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश ३ कमिटीले शिर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ । उता नेतृत्वसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीको तयारी छ । तर, शाक्य स्वयम्ले यसअघि पार्टीको निर्णय कार्यान्वयन गराउन असम्भव भएको प्रतिक्रिया दिँदै आएकी थिइन् । राजधानी सम्बन्धी पार्टी निर्णय कार्यान्वयन गराउन नसकेपछि प्रदेशसभा बैठक पुसः २३ गतेलाई सारेर प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल सोमबार काठमाडौं आएका छन् ।

यस बिषयमा प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेस भने बोलेको छैन ।कांग्रेसले यसअघि नै बैठक बसी नेकपाको सचिवालयबाट निर्णय गर्नु प्रक्रिया गलत भएको भन्दै खेद प्रकट गरेको थियो । यद्दपी कांग्रेस नेता इन्द्र बहादुर बानियाले हिजो प्रदेशसभा बैठकमा भने सबै दृष्टिकोणले हेटौंडा नै राजधानी उपयुक्त हुने बताएका थिए । बैठकमा बोल्दै नेता बानियाँले राजनीतिमा ५० औं भोटो फटाएका नेताहरुले गरेको निर्णय मान्नुपर्ने भन्दै नेपकाको निर्णयलाई समर्थन गरेका थिए ।

स्रोत : हेटौंडाखबर डट कम