१३ बैशाख २०८१, बिहीबार

अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण

bajhang sirak radio

जिल्लाको खप्तड छान्ना गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण गरेको छ । गाउँपालिकाको कार्यालय घाँटखोलामा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले पालिकाभित्रका ‘क’ वर्गको अपाङ्गता परिचयपत्र पाएका २९ जनालाई प्रतिव्यक्ति एक सेट रेडियो र एक न्यानो सिरक वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिलाई चिसो मौसममा न्यानो कपडा सिरक र सूचना तथा जानकारीका लागि रेडियो वितरण गरेको थियो । गाउँपालिका भित्र क, ख, ग, घ वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति धेरै भए पनि पहिलो चरणमा शाररीरिक रुपले अशक्त गाउँपालिका भित्रका ‘क’ वर्गका सबै अपाङ्गता भएकालाई सानो राहत दिएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताउनुभयो । वार्षिक नीति तथा कार्यक्रममा असहाय, गरिब, अशक्तलाई विभिन्न चरणका सहयोग गर्ने कार्यक्रम अन्तर्गत रेडियो र सिरक वितरण गरेको उहाँले बताउनुभयो ।

पालिकाले यस अघि पनि ज्येष्ठ नागरिकलाई चिसो याममा सिरक समेत वितरण गरेको थियो भने अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालीम समेत दिएको थियो । गाउँपालिकाले सिरक र रेडियो दिएपछि रेडियो सुनेर ज्ञान विज्ञानका कुरा तथा सूचना समाचार सुन्नेर दिन काट्न सजिलो हुने र सिरकले पनि चिसोयाममा राहत मिलेको खप्तडछान्ना–६ का वीरबहादुर खड्काले बताउनुभयो ।

उहाँजस्तै अन्य सामग्री पाएका व्यक्ति पनि गाउँपालिकाले दिएको सहयोगप्रति खुशी भएका छन् । अपाङ्गता भएका व्यक्तिको राहत सामग्रीका साथै क्षमता विकास, आयआर्जन र संस्थागत विकासका लागि पालिकाले काम गरिरहेको कर्मचारीले बताएका छन् ।

दुई सयको हाराहारीमा अपाङ्गता भएका व्यक्ति रहेको खप्तडछान्ना गाउँपालिकामा अपाङ्गता सञ्जाल समेत गठन गरी उहाँहरुको हकहित र क्षमता विकासका कामसमेत भइरहेको वडा नम्बर ७ का अध्यक्ष रामबहादुर सिंहले बताउनुभयो ।