१६ चैत्र २०८०, शुक्रबार

बझाङका दुई गाउँपालिका अध्यक्षसहित १६ जनप्रतिनिधिले दिए राजीनामा, पुन: उम्मेदवारी दिने तयारी

Bajhang

स्थानीय तहको निर्वाचनका लागि मनोनयन गर्ने समय नजिकिँदै गर्दा बझाङका जनप्रतिनिधिले राजीनामा दिन थालको छन् । आसन्न स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिको उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन गर्ने समयभन्दा अघि नै राजीनामा दिनुपर्ने आयोगले निर्णय गरेपछि बझाङमा पनि जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन् ।

उनीहरू आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्ने भएपछि राजीनामा दिन थालेका हुन् । हालसम्म जिल्लामा १६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । जिल्लाको खप्तडछान्ना र साइपाल र जयपृथ्वी नगरपालिकाका जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

खप्तडछान्ना गाउँपालिका अध्यक्ष वर्कबहादुर रोकायाले आसन्न स्थानीय तहको निर्वाचनका लागि गाउँपालिका अध्यक्षमा दोहोरिने भएपछि पदबाट राजीनामा दिएका हुन् ।

त्यसैगरी, अघिल्लो स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका खप्तडछान्ना गाउँपालिकाका चार जना वडा अध्यक्षले पनि राजीनामा दिएका छन् । वडा नं. ३ का वडा अध्यक्ष मंगल सुनार, वडा नं. ४ का वडा अध्यक्ष भीमबहादुर रोकाया, वडा नं. ६ का वडा अध्यक्ष तिलक खड्का र वडा नं. ७ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता रामबहादुर सिंहले राजीनामा दिएका हुन् ।

उनीहरू सबै कांग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । राजीनामा दिएका सिंह गाउँपालिका अध्यक्षका लागि दाबी गरिरहेका छन् भने अन्य तीन जना पुनः वडाध्यक्षका लागि उम्मेदवारी दिने बताइरहेका छन् ।

त्यसैगरी, खप्तडछान्ना गाउँपालिकाका अन्य पाँच वडा सदस्यले पनि पदबाट राजीनामा दिएका छन् । खप्तडछान्ना गाउँपालिका वडा नं. २ का वडा सदस्य रामचन्द्र रावल, वडा नं. ४ का वडा सदस्य दुदादेवी रोकाया, वडा नं. ६ की वडा सदस्य कृष्णा थापा, वडा नं. ७ का वडा सदस्य गोपिन्द बोहरा र निर्मला रोकायाले पदबाट राजीनामा दिएका हुन् । सदस्य पदबाट राजीनामाका दिएका उनीहरू आसन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षको उम्मेदवार बन्ने लाइनमा रहेका छन् ।

त्यस्तै, आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा पुनः दाबी गर्दै आएका साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले पनि पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले राजीनामा दिएका हुन् । आगामी स्थानीय निर्वाचनमा आफ्नो उम्मेदवारी रहने भएका कारण आफूले राजीनामा दिएको धामीले बताए । त्यसैगरी वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवारी दिनका लागि बझाङका जयपृथ्वी नगरपालिकाका ५ जना जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छन् । आज २ जना वडाध्यक्ष र ३ जना वडा सदस्य गरी जयपृथ्वी नगरपालिकाबाट ५ जनाले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा वडा नं ६ का वडाध्यक्ष नरेन्द्र सिंह, वडा नं १० का वडाध्यक्ष दलबहादु विष्ट, वडा नं ११ का वडा सदस्य भक्तराज जोशी, वडा नं ५ का वडा सदस्य हर्कजंग बहादुर सिंह र वडा नं ४ का वडा सदस्य गणेशराज जोशी रहेका छन् । वडा अध्यक्षबाट राजीनामा दिएका तीनै जान आसन्न स्थानीय तहको निर्वाचना जयपृथ्वी नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने बताइरहेका छन् । नरेन्द्रबहादुर सिंहले स्वतन्त्रबाट उम्मेदवारी दिने बताइरहेका छन् भने हर्कजंगबहादुर सिंह र दवबहादुर विष्टले नेपाली कांग्रेसबाट जयपृथ्वी नगरपालिकाको प्रमुखमा दाबी गर्दै आएका छन् ।

वडा अध्यक्षबाट राजीनामा दिएका नरेन्द्र बहादुर सिंह अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी वडाध्यक्ष हुन् । जयपृथ्वी नगरपालिकामा गठबन्धन गर्दा प्रमुख कांग्रेस र उपप्रमुख नेकपा माओवादीको भागमा परेको थियो ।

नेकपा माओवादी केन्द्रले उपमेयरको टिकट कांग्रेसका पार्टी सचिव रतनबहादुर सिंहलाई दिने भएपछि सिंह रुष्ट भएका हुन् । आफ्नो कुनै पनि मूल्यांकन पार्टीले नगरेका कारण आफू नगरप्रमुखमा स्वतन्त्ररुपमा उम्मेदवारी दिन लागेको उनले बताए ।

पार्टीमा कुनै लगानी नै नभएका मान्छेलाई पार्टीले टिकट दिने अवस्था आएपछि आफूले पदबाट राजीनामा दिएको उनको भनाइ छ । गठबन्धनप्रति आफ्नो कुनै गुनासो नभएका तर आफ्नै पार्टीले आफ्नो मूल्यांकन नगरेपछि आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको उनले बताए ।

निर्वाचन आयोगले जनप्रतिनिधिले पुनः चुनाव लड्न चाहेमा पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । त्यहीअनुरूप आउँदो पालिका चुनावमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने भएका छन् । उम्मेदवारी दिँदा राजीनामा दिनुपर्ने चुनावी आचारसंहिताको प्रावधानविरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने भएको हो ।