११ बैशाख २०८१, मंगलवार

प्रदेश लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

Somnath Adhikari

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षतामा रहेको बताउनुभएको छ ।

प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले जनसमुदायमा रहेको विश्वसनियतालाई स्थापित गराउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यक्ता औँल्याउँनुभयो ।

प्रदेश प्रमुख अधिकारीले आयोगमार्फत हुने कार्यहरु ज्ञान, बुद्धि, विवेक, सीप र बौद्धिकताको उचित प्रयोग गरी राष्ट्रिय समृद्धिका लागि हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आयोग सबैका लागि र सधैँका लागि विश्वासिलो, निष्पक्ष, तटस्थ र पारदर्शी बनी रहोस् भन्नुभयो ।

प्रदेश प्रमुख अधिकारीले प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको प्रदेश लोक सेवा आयोग स्मारिकाको विमोचन गर्नुभयो । प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, आयोगका सदस्य सजना दाहालले सर्वसाधारणमा आयोगप्रतिको विश्वासलाई सदैव कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोगका सदस्य टीकादत्त राईले आयोगले एक वर्षको अवधिमा गरेका कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।