१६ चैत्र २०८०, शुक्रबार

डा भट्टराईको ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक

books

पूर्वपरराष्ट्रसचिव डा मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक भएको छ । उहाँद्वारा नेपालीमा लिखित दोस्रो पुस्तकका रुपमा उक्त कृति लोकार्पण गरिएको हो ।

साङ्ग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको पुस्तकमा हालसम्म परराष्ट्र सचिव भइसक्नुभएका २४ पूर्वसचिवले गर्नुभएको कामका साथमा उहाँको पारिवारिक अवस्थामा बारेमा उल्लेख गरिएको छ । यसैगरी पुस्तकमा मुन्सीहरुको प्रशासनिक दबदबाका विभिन्न पाटालाई उजागर गरिएको छ ।
सात सालपछिको राजनीतिक प्रणाली परिवर्तनपछि अहिलेसम्मका परराष्ट्र सचिवको काम र योगदानमा प्रत्यक्ष–परोक्ष प्रभाव पार्ने व्यक्तिलाई पनि पुस्तकको कथ्य बनाइएको छ भने छिमेकी र अन्य राष्ट्रका विषयमा समेत पुस्तक बोलेको छ ।

सन् १९७७ को लोकसेवा आयोगका परीक्षामा पहिलो भएर निजामती सेवा प्रवेश गर्नुभएका डा भट्टराईले कूटनीतिक सेवामा झण्डै चार दशक बिताउनुभएको छ । डा भट्टराई कूटनीतिक सेवाका क्रममा नयाँ दिल्लीमा उपनियोग प्रमुख, जर्मनी र जापानका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका प्रवक्ता, परराष्ट्र सचिव र राष्ट्रपति विद्यादेवी भण्डारीका विदेश मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकारसमेत भइसक्नुभएको छ ।

उहाँले अन्तरराष्ट्रिय सम्बन्धमा विद्यावारिधि र महाविद्यावारिधि उपाधि प्राप्त गरिसक्नुभएको छ । यसअघि उहाँको नेपालीमा ‘परराष्ट्रका पात्र’ तथा अङ्ग्रेजीमा दुई पुस्तक प्रकाशन भइसकेका छन् । अघिल्लो कृति नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा रहेका मन्त्रीदेखि परराष्ट्र नीतिका सम्बन्धमा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार...