१५ चैत्र २०८०, बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई विश्वभरबाट बधाईको ओइरो, सपथपछि कुन देशको कस्तो प्रतिक्रिया ?

joe Biden

जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसपटकको शपथग्रहण समारोह भने यसअघिको भन्दा फरक देखिएको थियो । समारोहमा डोनाल्ड ट्रम्प सहभागी भएनन् । ट्रम्पले यसअघि नै यो समारोहमा सहभागी नहुने घोषणा गरिसकेका थिए । आगामी राष्ट्रपतिको शपथग्रहणमा सहभागी नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । पछिल्लो १५० वर्षको इतिहासमा भने उनी पहिलो राष्ट्रपति हुन् ।

बुधबार भएको शपथ ग्रहण समारोहमा लेडी गागाले अमेरिकाको राष्ट्रिय गान गाएकी थिइन् । जेनिफर लोपोजले पनि सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडन विजयी भएका थिए । उक्त निर्वाचनको नतिजामा ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए । तर ट्रम्पका समर्थकहरूको विरोधका बाबजुद अमेरिकी संसदले बाइडनलाई विजयी घोषणा गरेको थियो ।

बाइडनभन्दा पहिला उपराष्ट्रपतिमा कमलादेवी ह्यारिसले सपथ लिएको थिइन् । ह्यारिस अमेरिकाको पहिलो महिला एव‌ं अश्वेत उपराष्ट्रपति हुन् ।

सपथ ग्रहण समारोहमा बोल्दै बाइडनले यो दिन अमेरिकाको लागि इतिहास र आशाको दिन रहेको बताए । उनले आफू सबैको राष्ट्रपति बन्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले अहिले अमेरिकाले सामना गरिरहेको समस्या सबै मिलेर समाधान गर्ने बताए । उनले आफूले राष्ट्रपतिको रूपमा सकेसम्म राम्रो काम गर्ने बताए । उनले संविधान, प्रजातान्त्रिक पद्धति र अमेरिकाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

2021 01 19T191854Z 1905277365 RC26BL9XH1NV RTRMADP 3 USA BIDEN INAUGURATION

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई विश्वभरबाट बधाई सन्देश आइरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले बाइडेन प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । ‘म उनी र उनको नयाँ प्रशासनसँग मिलेर काम गर्नेमा छु । हाम्रो देशहरुबीच सहकार्य बलियो बनाउने तथा जलवायु परिवर्तनविरुद्धको लडाई, महामारी जितेर अघि बढ्ने र हाम्रो ट्रान्स एटलान्टिक सुरक्षालगायत साझा प्राथमिकतामा सहकार्य गर्नेबारे सोचिरहेको छु,’ जोनसोनले भने ।

त्यसैगरी भिडियो सन्देश जारी गर्दै जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टिनमिइयरले बाइडेन शीर्ष स्थानमा पुग्नु ‘प्रजातन्त्रका लागि राम्रो दिन’ रहेको बताए । युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियेनले अमेरिका फर्किएको बताइन् । ‘पुुरानो र विश्वासिलो साझेदारसँग पुन जोडिन युुरोप तयार छ,’ उनले ट्वीटरमा लेखिन् ।

ट्वीटरमार्फत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बाइडेनलाई बधाई दिएका छन् । पाकिस्तान–अमेरिका सहकार्यलाई बलियो बनाउन बाइडेन प्रशासनसँग मिलेर काम गर्ने इमरानले उल्लेख गरेका छन् । इटली, मेक्सिको, कोस्टारिकालगायत देशबाट पनि बाइडेनलाई शुभकामना सन्देश प्राप्त भएको छ ।

ईरानका राष्ट्रपति हसन रौहानीले ट्रम्पको बर्हिगमनलाई क्रुर युुगको अन्त्य भनेका छन् । ‘कानून र प्रतिबद्धतामा बाइडेन प्रशासन फर्कने हाम्रो अपेक्षा छ । विगत ४ वर्षदखिको दाग मेटाउन (यदि सक्छन् भने) उनीहरुले प्रयास गर्ने अपेक्षा छ,’ रौहानीले भनेका छन् । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले अमेरिकासँग रुसले राम्रो सम्बन्धको खोज ी गर्ने बताएका छन् । तर, अमेरिकाले पनि यस्तो गर्छ वा गर्दैन भन्ने विषय बाइडेन र उनको टिममा निर्भर रहने उनले बताएका छन् ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अमेरिकाको ४६ औं राष्ट्रपति भएकोमा शुभकामना दिँदै बाइडेनसँग भारत अमेरिकी रणनीतिक साझेदारीलाई सुदृढ पार्न मिलेर काम गर्ने बताएका छन् । ट्वीटरमार्फत उनले लेखेका छन्ः ‘अमेरिकाको लागि सफल कार्यकालको शुभकामना । हामी साझा चूनौतीहरुको सामना गर्न र विश्वव्यापी शान्ति र सुरक्षाका लागि एक साथ खडा हुनेछौं ।’