१४ बैशाख २०८१, शुक्रबार

कृषिमा युवा : बँदेल र कालिजपालनदेखि कृषि पर्यटनसम्म

unnamed 8

बागलुङमा पछिल्ल्लो समय कृषिप्रति युवाको आकर्षण बढिरहेका अवस्थामा बागलुङ, ताराखोला गाउँपालिका वडा नं ४ ताराको छम्टु गाउँका ३० वर्षीय दिवस खत्री सामाजिक कामसँगै व्यावसायिक बँदेल पालनमा लाग्नुभएको छ । बङ्गुुरपालन नौलो व्यवसाय नभए पनि जङ्गली बँदेल पालन नेपालमै नितान्त फरक व्यवसाय भएको खत्रीको जिकिर छ । खत्रीले यसअघि रेन्बो ट्राउट माछा र बाख्रापालन शुरु गरिसक्नुभएको छ ।

यस्तै जैमिनी नगरपालिका –१० राङ्खानीका केदार आचार्यले जैविक कृषि फर्ममार्फत कृषि पर्यटनको क्षेत्र बनाउने लक्ष्यका साथ कृषि कर्मलाई अघि बढाउनुभएको छ । ढोरपाटन नगरपालिका – २ सलामकोटमा पहिलोपटक स्थानीयवासी चूडामणि कंँडेलले व्यावसायिक कालिज पालन थाल्नुभएको छ ।

जङ्गली बँदेलबाट वैज्ञानिक गर्भधारणका माध्यमबाट उत्पादित पाठापाठीको व्यावसायिक पालन शुरु गर्नुभएका खत्री आफ्नो व्यवसाय अत्यन्तै फरक भएको बताउनुहुन्छ । समाजिक काममा समेत सक्रिय खत्री १३ वर्षका उमेरदेखि सशस्त्र द्वन्द्वमा होमिनुभएको थियो । शान्ति प्रक्रियापछि गाउँमा फर्कनुभएका खत्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताराखोला गाउँ कमिटी र तारा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहनुभएको छ ।

राजनीति र समाजसेवालाई नै आफ्नो पेशा ठान्ने परीपाटि गलत भएको जनाउँदै उहाँले नयाँनयाँ व्यवसाय गर्ने र युवालाई रोजगारी दिएर गाउँमा कृषि क्रान्ति ल्याउने अभियानमा आफू लागेको बताउनुभयो । “देशमा परिवर्तन ल्याउन सानै उमेरमा जनयुद्धमा होमिएँ, अहिले गाउँमा बँदेल, ट्राउट माछा र बाख्रापालन गर्दै आएको छु”, खत्रीले भन्नुभयो, “समाजसेवासँगै अर्थोपार्जनका लागि नयाँ व्यवसायमा हात हाल्दै आएको छु, केहीलाई रोजगारीसमेत प्रदान गरिरहेको छ ।” उहाँले बँदेलपालन व्यवसाय एकल लगानी तथा माछा र बाख्रापालन सामूहिक लगानीमा गर्दै आउनुभएको छ । खत्रीले सञ्चालनमा ल्याएको ताराखोला प्रदिक बँदेल फर्ममा अहिले ४८ बँदेल छन् ।

उहाँले पोखराबाट आठ महिनाअघि मात्रै रु नौ हजार ५०० प्रति बँदेलका पाठापाठी खरीद गरी बँदेल पालन शुरु गर्नुभएको हो । बङ्गुभन्दा निकै स्वादिष्ट हुने बँदेलको मासुको मूल्यसमेत उच्च रहेका कारण दुई वर्षदेखिको अध्ययन र अनुसन्धानपछि पोखराबाट ३० बँदेलका पाठापाठी ल्याएर व्यावसायिक बँदेल पालन शुरु गरिएको खत्रीको भनाइ छ । अहिले सात बँदेल मासुका लागि तयार भएको र अग्रिम रुपमै माग भइसकेको छ । बजारमा बङ्गुरको मासु प्रतिकेजी ३५० रहेकामा बँदेलको मासु रु एक हजारभन्दा बढी मूल्य पर्ने भएकाले बँदेल पालन व्यवसाय शुरु गरिएको उहाँको भनाइ छ ।

खत्रीकै नेतृत्वमा ताराखोला रेन्बो ट्राउट फर्म तीन वर्षअघिदेखि तथा आठ महिनाअघिदेखि बँदेल पालन शुरु गरिएको हो । खत्रीसहित चार जनाले सामूहिक बाख्रापालनसमेत गर्दै आउनुभएको छ । सामूहिक बाख्रा फर्ममा ८० बाख्राा छन् । उहाँले बँदेलमा रु १५ लाख, माछामा रु २५ लाख र बाख्रापालनमा रु १५ लाख लगानी गरिसकिएको बताउनुभयो । खत्रीले अहिले सबै व्यवसायमा सात जनालाई रोजगारी दिनुभएको छ । उहाँको बँदेल फर्ममा ४८ बँदेल छन् । अब बँदेलका पाठापाठी खरीद गर्न नपर्ने र आफ्नै फर्ममा उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै छ वर्ष रोजगारीका लागि खाडी मुलुकमा बिताउनुभएका जैमिनीका आचार्यले कृषि पर्यटनको लक्ष्यसहित जैविक कृषि फर्म सञ्चालनमा ल्याउनुभएको छ । सात वर्षअघि मलेसियाबाट फर्किँदा व्यावसायिक च्याउ र अलँैची खेती गर्ने सोचसँगै बोकेर आउनुभएका आचार्यले ९० हजार लागतमा अलैँची र च्याउ खेती शुरु गर्नुभएको छ । उहाँले अहिले रु १८ लाख लगानी पु¥याउनुभएको छ । उहाँ फलफूल तथा जडिबुटीको नर्सरी र गँड्यौला खेतीका लागि थप रु १५ लाख लगानी बढाउने लक्ष्यमा हुनुहुन्छ ।

विसं २०७३ देखि आचार्य जैविक कृषि फर्म दर्ता गरी व्यवसायलाई बढाउनुभएका आचार्यको फर्ममा अहिले २० रोपनी जग्गामा अलैँची खेती गरिएको छ । उहाँले हाल एक रोपनी जग्गामा सुन्तला, अलैँची, एभोकाडो(घिउफल), हलुवाबे तथा किबीका बिरुवा उत्पादनका लागि नर्सरी स्थापना गर्नुभएको छ । उहाँले गत वर्ष गँड्यौला बेचेरै रु एक लाख ५० हजार कमाउनुभएको थियो । अहिले पनि गँड्यौला खेतीबाट उत्पादित मल नर्सरीमा प्रयोग गर्ने र गँड्यौला बिक्री गर्ने लक्ष्य राखिएको आचार्यले जानकारी दिनुभयो । “व्यवसायमा लाग्नुभन्दा पहिला गहिरो अध्ययन आवश्यक रहेछ, मैले लामो समय अध्ययन तथा अवलोकन भ्रमणपछि नयाँ प्रकारको व्यवसाय शुरु गरेको छु”, आचार्यले भन्नुभयो, “लगानीकै चरणमा छु,, अहिले वार्षिक रु तीन लाख नाफा गर्दै आएको छु, भविष्यमा कृषि पर्यटनको विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको छु ।” पैँतीस वर्षीय आचार्य परम्परागत कृषि त्यागेर आधुनिक र युग सुहाउँदो, फलफूल तथा कृषिको नयाँ व्यवसाय गर्न आवश्यक रहेको बताउनुहुन्छ । तीन वर्षअघिदेखि शुरु गरिएको गँड्यौला व्यवसाय आफ्नो क्षेत्रको नौलो व्यवसाय भएकाले अन्य कृषकसमेत अध्ययन अवलोकनका लागि आउने गरेको आचार्यको भनाइ छ ।

अर्को वर्ष १५० हजार अलैँची, २० हजार सुन्तलाका बिरुवा, कलमीका लागि आवश्यक तीनपाते एक हजार किबीका बिरुवा, एक हजार अकबरे खुर्सानी, घिउफल, हलुवाबेद, चुच्चे ओखरलगायत बिरुवा उत्पादन गर्न थाल्नुभएको छ । आचार्यले अलँैची बिक्री गरेर मात्र वर्षमा न्यूनतम रु तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

आचार्यले फर्ममा साग, टमाटर, आलु, अकबरे खुर्सानी, काउली, ब्रोकाउली र सिमी पनि उत्पादन गर्दै आउनुभएको छ । फर्म पर्यटकीयस्थल हाँडीकोट नजीकै रहेका कारण उहाँले कृषि पर्यटनको सम्भावना देख्नुभएको छ । गाउँमै कृषि रिसोर्ट सञ्चालनमा ल्याउने आचार्यको लक्ष्य छ ।
यस्तै सलामकोटक कँंडेलले एक वर्षअघिदेखि कालिज पालन व्यवसाय शुरु गर्नुभएको छ । दुई सय कालिजका चल्ला पोखराबाट ल्याएर पाल्न थाल्नुभएका उहाँले शुरुमा कालिज मरे पनि पछिल्लो समय कालिज पालन व्यवसाय फष्टाउने सम्भावना रहेको बताउनुभयो । उहाँले पहिलोपटक ३५ कालिज बिक्री गरिसक्नुभएको छ ।

अहिले आफ्नो कालिज फर्ममा १०० पोथी कालिजले अण्डा दिइरहेको र आगामी महिना झण्डै चारदेखि पाँचसय चल्ला उत्पादन गरी हुर्काउने लक्ष्य राखिएको कंँडेलले जानकारी दिनुभयो ।“यहाँको हावापानीमा कालिजपालन परीक्षणका लागि थोरै मात्रामा कालिज लिएर शुरु गरेको थिएँ”, कंँडेलले भन्नुभयो, “शुरुमा केही कठिनाइ भए पनि कालिजपालन व्यवसाय सफल हुने देखियो, आफ्नै फर्ममा अण्डा उत्पादन भइरहेका कारण कालिज बढाउन अब समस्या छैन ।” कँंडेलले स्माल हेभन चरा फार्म दर्ता गरी कालिजपालन शुरु गर्नुभएको हो ।

कंँडेलले दुई रोपनी जग्गा मात्रै व्यवस्थापन गर्न हालसम्म रु १० लाख खर्च गरिसक्नुभएको र अबका दिनमा तीन हजार कालिज पालनका लागि फार्मको विस्तार गरी १० रोपनी क्षेत्रफलमा तारजाली गर्ने काम भइरहेको जानकारी दिनुभयो । अहिले प्रतिगोटा भाले कालिजलाई रु तीन हजार ५०० मा बिक्री गरिएको उहाँको भनाइ छ ।