१३ बैशाख २०८१, बिहीबार

निर्वाचनको चहलपहल शुरु

elec

जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम–२०७७ अनुसार आजदेखि आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ ।

पहिलो चरणको काम मतदानस्थल र केन्द्रको अवस्था तथा स्थानीय तहहरुबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले बताउनुभयो ।

सो क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रतिनिधि नारायण पाण्डे र नेपाली कांग्रेसका प्रतिनिधि महेश पौडेलले निर्वाचन कार्यालयले गरेको आग्रहका आधारमा स्थानीय तहहरुले पठाएको आधिकारिक पत्रबाहेक अरु मतदानस्थललाई अहिलेका लागि नचलाउन सुझाव दिनुभयो ।

उक्त छलफलका क्रममा मतदानस्थल र केन्द्रसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकका लागि दाबी विरोध कार्यक्रमअनुसार यही माघ १५ देखि २६ गतेसम्म स्थानीय तहका केन्द्र र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सञ्चालन हुने जनाइएको छ । मतदानका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि शुद्ध मतदाता नामावली तयार गर्न त्रुटि सच्याउने र दोहोरो भएको पाइएमा हटाउने कार्यका लागि नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

विसं २०७४ को निर्वाचनमा काभ्रेपलाञ्चोकमा दुई लाख ७२ हजार २९२ मतदाता सङ्ख्या रहेकामा अहिले नयाँ दश हजार २६३ जना थप भएको कार्यालयले जनाएको छ । सोमा अद्यावधिक गर्ने बेलामा त्रुटि सच्याउने र दोहोरो हटाउने गर्दा सो सङ्ख्यामा केही कमी आउन सक्ने निर्वाचन अधिकारी राईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावली अद्यावधिक गर्ने राज्यबाट चलाइएको अभियानमा सबै तहबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

नवलपुरमा ११ हजार मतदाता वृद्धि

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूूर्व)मा ११ हजारभन्दा बढी मतदाता बढेका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लामा ११ हजार ४०९ मतदाता बढेका हुन् । जिल्ला निर्वाचन अधिकारी ओम नारायण शर्मा ढुङ्गानाले गत पुस ५ गतेसम्म कार्यालयमा दर्ता भएको नामावली निर्वाचन आयोगमा पठाइएकामा आयोगबाट दुई लाख ३३ हजार १२३ मतदाताले मतदानमा भाग लिन पाउने गरी नामावली फिर्ता आएको बताउनुुभयो । उहाँका अनुसार एक लाख नौ हजार ५६७ पुरुष, एक लाख २३ हजार ५५२ महिला र चार जना तेस्रो लिङ्गी रहेका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुुई लाख २१ हजार ७१४ मतदाता रहेका थिए ।

जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण पुनरावलोकन समितिको बैठक बसिसकेको भन्दै जिल्ला निर्वाचन अधिकारी ढुङ्गानाले जिल्लामा मतदानस्थल तथा केन्द्र नबढ्ने बताउनुुभयो । जिल्लामा २५८ मतदान केन्द्र तथा ११२ मतदानस्थल छन् । राजनीतिक दलहरुले मतदान केन्द्र र मतदानस्थल थप गर्ने विषयमा कुनै सुुझाव नदिएका ढुङ्गानाले बताउनुुभयो ।

आयोगबाट नामावली प्राप्त भइसकेकाले यही माघ १५ गतेदेखि मतदाताको नामावलीमा रहेको दोहोरो नामावली हटाउने, त्रुटि सच्चाउने र विवरण सच्चाउने काम हुने उहाँले बताउनुुभयो । मतदाता नामावली सच्चाउनका लागि जिल्लाका आठवटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी तोकिएको भन्दै ढुङ्गानाले उनीहरुका लागि यही माघ ९ गते अभिमुखीकरण राखिएको बताउनुुभयो । सहायक नाम दर्ता अधिकारीले यही माघ १५ गतेदेखि स्थानीय तहमा नै बसेर विवरण सच््याउने काम गर्ने उहाँले बताउनुभयो ।