१४ बैशाख २०८१, शुक्रबार

आत्महत्या रोक्न साझा अभियान शुरु

suicide hanging 1200x675 1
फाइल फोटो

ओखलढुङ्गामा आत्महत्याका घटना न्यूनीकरणका अभियान थालिएको छ ।

पछिल्लो समय जिल्लामा आत्महत्याका घटना लगातार बढेपछि प्रहरी, प्रशासन, स्थानीय तह, सामाजिक सङ्घसंस्था र विद्यालयलगायतले सामूहिकरुपमा आत्महत्या न्यूनीकरण अभियान शुरु गरेका हुन् ।

जिल्लामा चालु आव २०७७÷०७८ को साउनदेखि मङ्सिरसम्मको अवधिमा मात्रै ३० जनाले आत्महत्या गरेका छन् । गत आव २०७६÷०७७ मा ५७ जनाले आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार अघिल्लो वर्ष १० जनाले विष सेवन गरेर र ४७ जनाले झुन्डिएर आत्महत्या गरेका थिए । यस वर्ष नौ जनाले विष सेवन र २१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

बढ्दो क्रममा रहेको आत्महत्याका घटनाले समुदायमा त्रास फैलाइरहेको छ । सिद्धिचरण नगरपालिकाका ओमकुमारी दाहालले आत्महत्याका घटना दिनानुदिन बढ्दा समाजमा गलत संस्कारको विकास भएको बताउनुभयो । भटाभट मान्छे आफूलाई हत्या गरिरहेका छन् । “अब त भनेजस्तो अनि सोचेजस्तो भएन यसो पो गर्नुपर्ने रहेछ भन्ने अरुले पनि सिक्लान् र झन विकराल बन्ला भन्ने पिर भो”, उहाँले भन्नुभयो, “झै–झगडा नै यसको मूल कारण जस्तो देखियो गाउँघरमा मेलमिलापका कार्यक्रम ल्याउन पाए समाज सभ्य बन्ने थियो कि ?”

मनोपरामर्शदाता मनकुमार गुरुङका अनुसार अपेक्षा अनुसारको उपलब्धि नहुँदा मानिस निराश बनेर गलत बाटोमा लाग्ने गर्दछन् । “सामान्यतया माया प्रेममा खाएको धोका, सफल हुने आश हुँदाहुँदै पाएको असफलता, पारिवारिक झगडा, सामाजिक झमेला जस्ता कारण मानिस मानसिक समस्यामा पर्दछ”, उहाँले भन्नुभयो, “जब मानिसले गलत बाटो रोज्दछ र फरक व्यवहार देखाउन थाल्दछ । उसलाई त्यो बेला नै घृणाको व्यवहार होइन, माया र सहयोग गरेर परामर्शसहित उपचार पद्धतिमा लैजानुपर्छ ।” मानसिक समस्यामा परेकालाई अमानवीय व्यवहार गरेर थप समस्या दिन नहुने उहाँको भनाइ छ ।

ओखलढुङ्गामा मदिरा सेवनका कारण उत्पन्न बेमेललेसमेत आत्महत्याको बाटो रोजेका घटना छन् । मदिरा सेवन गर्ने व्यक्ति बेहोसी हुने र उसको गलत व्यवहारले परिवार र समाजमा असर पर्ने र अन्ततः मानिसले आत्महत्याको बाटोसमेत रोजेका घटना देखिएको सामाजिक मनोपरामर्शदाता रमिता श्रेष्ठको भनाइ छ । “सँगै बसेर मिलेर मदिरा सेवन गर्ने । मदिराको नशा लागेपछि आफूआफूबीचमा लडाइँ झगडा गरेर घटना घटाउने र कतिपयले त मदिरा सेवन गरेकै कारण समाजमा अपहेलित भएर आत्महत्याको बोटो रोजेकोसमेत बुझिन्छ”, उहाँले भन्नुभयो, “मदिरा सेवनले समाज विकृत, परिवार विखण्डन र जनधनको क्षति भइरहेका घटना बढेका छन् । मदिराका कारण शुरु भएको घर झगडाले आर्थिक अवस्था सुधारमा त चुनौती थियो नै परिवारको शारीरिक र मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको छ ।” मदिराको बढ्दो सेवनले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा असर गर्ने उहाँको भनाइ छ ।

प्रहरीको अनुसन्धानले पारिवारिक विखण्डन, कमजोर आर्थिक अवस्था, सामाजिक सञ्जालबाट स्थापित प्रेम सम्बन्ध र विछोड आत्महत्याको प्रमुख कारक रहेको देखाएको छ । जिल्ला प्रहरी प्रमुख रूपेश खड्काका अनुसार दिनानुदिन आत्महत्याका घटना बढेपछि यसको न्यूनीकरणका लागि विभिन्न क्षेत्रबाट पहल थालिएको छ । किशोरकिशोरी उमेरमा बढी कुलतमा फस्ने र मानसिक समस्यामा गुज्रिएर गलत बाटो रोज्ने भएकाले विद्यालय मार्फत सचेतना फैलाउन प्रहरी जुटेको छ । मानसिक समस्या समाधान र आत्महत्या रोकथामका बारेमा समुदायमा कार्यक्रम र विद्यालयमा कक्षा सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ । “यो जिल्लामा आत्महत्याका घटनाले निकै ठुलो रुप लियो । कुनैकुनै दिन त दुई वटा भन्दाबढी घटना भइरहेका छन्”, उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि साझा पहल आवश्यक देखियो । यसका विरुद्ध प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्कूलमार्फत सन्देश प्रवाह गर्न थालेको छ ।” घटना भइसकेपछि मात्रै समुदायले चासो दिने र प्रहरीले जानकारी पाउने भएकाले घटना हुनुअघि नै सतर्कता र सन्देश प्रवाहमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा बढ्दो आत्महत्याका कारण र यसको न्यूनीकरणका उपायका बारेमा सर्वेक्षण गरेको छ । अभाव, आवेग, उत्तेजना र दुरुत्साहनलगायतका कारण आत्महत्याका घटना हुने गरेको सर्वेक्षणले देखाएपछि प्रशासनले सर्वेक्षणका आधारमा जिल्लाका सबै आठवटै स्थानीय तहका ७५ वटै वडा र सम्बन्धित निकायलाई मानसिक स्वास्थ्यका बारेमा छलफल गर्न, चेतना फैलाउन र आत्महत्या न्यूनीकरण गर्न विशेष कार्ययोजनासहित सुझाव दिएको छ । जिल्लाका स्थानीय तहले पनि आत्महत्या न्यूनीकरणका कार्यक्रममा जोड दिन थालेका छन् । सिद्धिचरण नगरपालिकामा कोरोनाको कहरका समयमा नौ जनाले आत्महत्या गरेपछि नगरपालिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न थालेको छ । नगरभित्रका विद्यालय र समुदायमा आत्महत्याविरुद्धका कार्यक्रम सञ्चालनमा प्राथमिकता दिइएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले बताउनुभयो ।

“कोरोनाका बेला नौ जनाले आत्महत्या गरेको सर्वेक्षणले देखायो । प्रशासन र प्रहरीसँगको समन्वयमा हामीले चेतना फैलाउने कामको शुरुआत गरेका छौँ”, उपप्रमुख गुरुङले भन्नुभयो, “समुदायमा समस्यामा रहेका विशेषगरी गरिबी र विपन्न वर्गका नागरिकलाई रोजगारी र सीप दिएर आत्मनिर्भर बनाउने र मानसिक समस्यामा रहेका र हिंसापीडितलाई न्याय र परामर्श दिने हाम्रो लक्ष्य छ ।” जिल्लाका सबै आठवटै आत्महत्याविरुद्धका कार्यक्रममा जोड दिएका छन् ।

जिल्लामा प्रहरी प्रशासनले आत्महत्या दुरुसाहनका घटनामा अनुसन्धान प्रभावकारी बनाएर अभियुक्तलाई कानूनको दायरामा ल्याउने ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको भनाइ छ । तनाव व्यवस्थापन र आत्महत्याका घटना न्यूनीकरणका लागि स्थानीय तह र विद्यालयले निरन्तर आफ्ना हरेक कार्यक्रममा समेट्न उहाँको सुझाव छ । “प्रहरीले अनुसन्धान गहिरो गरेर दुरुसाहन गर्नेलाई कडा कारवाही गर्छ । स्थानीय तह र विद्यालयको भूमिका महत्वपूर्ण रहन्छ त्यसमा नीतिगत योजना बनाएर अघि बढ्नुको विकल्प छैन”, प्रजिअ पौडेलले भन्नुभयो, “अब हरेक विद्यालयका एक शिक्षकलाई मानसिक रोग र आत्महत्याविरुद्धको तालिम दिएर सभ्य समाज निर्माणमा परिचालन गरिनेछ ।”

मानसिक समस्या भएमा वा भएको शङ्का लागेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा मानसिक रोग विशेषज्ञकहाँ गई परामर्श लिन जानकारहरुको सुझाव छ ।