७ बैशाख २०८१, शुक्रबार

ओखलढुङ्गामा नेकपा एस र जसपा एक्ला एक्लै चुनाव लड्ने

election

ओखलढुङ्गामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक्ला एक्लै चुनावमा जाने तयारी गरेका छन् । गठबन्धनका साझेदार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले तालमेल गरेर दुई दललाई सामेल गराएपछि यस्तो अवस्था आएको हो ।

जिल्लाका केही पालिका र वडाहरुमा एक्लै चुनाव लड्ने तयारी गरिएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नेत्रप्रसाद भट्टराईले बताउनुभयो । केन्द्रीय सदस्य भट्टराईका अनुसार जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका बाहेक अन्य सातवटा पालिका र ३० वटा वडामा नेकपा एसले उम्मेदवारी दिनेछ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको समेत टुङ्गो लागेको नेकपा (एकीकृत समाजवादी) पार्टी ओखलढुङ्गाले जनाएको छ । सिद्धिचरण नगरपालिकाको प्रमुखमा तिलक लोहनी र उपप्रमुखमा निर्मला श्रेष्ठ, यस्तै, चिशंखुगढी गाउँपालिका अध्यक्षमा शारदा निरौला र उपाध्यक्षमा कृष्ण भुजेलको उम्मेदवारी पक्का गरेको छ ।

यसैगरी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नेत्रप्रसाद भट्टराई आफैँ लिखु गाउँपालिकाको अध्यक्षमा उठ्नुहुने भएको छ । उपाध्यक्षमा पूर्णमाया बुढाथोकीको उम्मेदवारी छ । चम्पादेवी गाउँपालिका अध्यक्षमा कमल खड्का र उपाध्यक्षमा शोभा बोगटीको नाम पार्टीले सार्वजनिक गरेको छ । सुनकोशी गाउँपालिकाको अध्यक्षमा यमचन्द्र कटुवाल, मोलुङ गाउँपालिका अध्यक्षमा दिपक फुयाल र खिजीदेम्बा गाउँपालिका अध्यक्षमा गेल्बु शेर्पालाई उम्मेदवार बनाइएको सो पार्टीले जनाएको छ ।

यसका साथै जसपाले पनि एक्लै चनावमा जाने निर्णय गरेको छ । काँग्रेस र माओवादीले बलमिच्याइँ गरी एकलौटी निर्णय गरेकाले गठबन्धनभित्र रहन नसक्ने भन्दै जसपाले एक्लै चुनाव लड्ने निर्णय गरेको हो । पाँच दलीय गठबन्धनको मर्म र भावना विपरीत साझेदार दलहरुसँग छलफल नै नगरी काँग्रेस र माओवादीले आफुखुशी भागबण्डा गरेकोप्रति जसपाले विज्ञप्तिमार्फत असहमति जनाएको छ ।

निर्वाचनमा एक्लै चुनाव लड्न तयारी थालिएको जसपा ओखलढुङ्गाका अध्यक्ष खेमराज खड्काले बताउनुभयो । जसपाले मानेभञ्ज्याङ र खिजीदेम्बा गाउँपालिका अध्यक्ष दावी गरेको थियो भने नेकपा एसले सिद्धिचरण नगरपालिका प्रमुख र लिखु गाउँपालिकाको अध्यक्ष पद दावी गरेको थियो । जिल्लामा काँग्रेस र माओवादीबिच गठबन्धन गरेर चुनावी तालमेल गर्ने निर्णय भए पनि सुनकोशी र मानेभञ्ज्याङ्ग गाउँपालिकाका केही वडाहरुमा अझै असहमति देखिएको छ ।