१३ बैशाख २०८१, बिहीबार

‘नेपाल–भारत सीमा समन्वय बैठक’: सीमामा आवागमन बन्द गर्ने सहमति

boder

आसन्न स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी कैलालीको गोदावरीमा आज भएको ‘नेपाल–भारत सीमा समन्वय बैठक’मा निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमा नाकामा आवागमन बन्द गर्ने सहमति भएको छ ।

अत्यावश्यक सेवाबाहेक निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमा नाकामा आवागमन बन्द गरी सीमा सुरक्षा चुस्त बनाउने सहमति भएको नेपालको तर्फबाट बैठकको नेतृत्व गर्नुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

लखिमपुर (खिरी) जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार सिंहले नेपालमा हुन लागेको स्थानीय चुनावलाई निष्पक्ष र पारदर्शी बनाउन आफूहरू पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो ।

बैठकमा अवैध चोरी, तस्करी रोकथाम, अवाञ्छित र आपराधिक गतिविधि हुन नदिनका लागि दुवै पक्षले प्रहरी गस्ती गर्ने, दशगजा अतिक्रमण रोकथाम गर्ने, वन र वन्यजन्तुको चोरी शिकारी रोकथाम गर्ने, सीमाको आपसी समस्या समाधानमा सूचना आदान–प्रदान गर्ने लगायतका विषयमा सहमति भएको छ ।
रासस