१४ बैशाख २०८१, शुक्रबार

“ऋण लागोस् तर दिन नलागोस्”: मानसिक रोगीकी आमाको दुखेसो, इन्द्रमायालाई ऋणभन्दा बढी दिन

UN Tehrathum Sarki scaled

“ऋण लागोस् तर दिन नलागोस्” भन्ने उक्ति नेपाली समाजमा रहेको पाइन्छ । यहाँ यो उक्ति उल्टो सावित भएको छ । इन्द्रमाया रोक्कालाई ऋणभन्दा बढी दिन लागेको छ ।

छथर गाउँपालिका –२ हमरजुङकी इन्द्रमाया रोक्काकी जेठी छोरी कमला दाम्लामा बाँधिएको वर्षौंँ भयो । उनले जन्माएको छोरो १६ वर्ष पुगिसकेको छ तर अहिलेसम्म बाबु को हो भन्ने थाहा छैन । रोक्का ३६ वर्षीया छोरी कमलालाई दाम्लाले बाँधेर राखेको १९ वर्ष भइसकेको बताउनुहुन्छ ।

तीन वर्षदेखि नै कमलाले क्रमशः पूरै मानसिक सन्तुलन गुमाइन् । उमेर बढेसँगै उनले अनौठा क्रियाकलाप गर्न थालिन् । दलित समुदायकै विपन्न परिवारकी गृहिणी इन्द्रमाया गरीबीका कारण परिवार चलाउन कमलालाई तीन वर्षदेखि नै गोठमा डोरीले बाँधेर एक्लै छाडी मेलापात हिँड्न थाल्नुभएको हो ।

इन्द्रमायाले स्थानीयवासीको सल्लाहमा नजीकका स्वास्थ्यचौकी र अस्पतालमा पु¥याए पनि छोरीको मानसिक सन्तुलन फर्केन । उहाँले हार नमानी केही वर्षअघि दलित सचेतना समाज नेपालका संयोजनमा २०६८ साल मङ्सिर १५ गते मानसिक रोगी छोरीलाई घरबाट काठमाडौँस्थित मेरिनोल नेपाल आशादीप नामक संस्थामो उपचारका लागि पु¥याउनुभया।े ।

कमलालाई मेरिनोल नेपालले छ महिना सम्म उपचार गरी घर पु¥याइदिएको थियो । उपचारहुञ्जेल केही राम्रो भए जस्तो भए पनि काठमाडौँबाट आएपछि भने कमलाले औषधि खानै छाडिन् । आमा इन्द्रमाया भन्नुहुन्छ, “औषधि खाइस् भनेर सोध्दा खाएँ भन्थी, तर औषधि नखाई घर नजीकै रहेको खोलामा फालेको पो भेटियो ।”

मानसिकरुपमा ठीक नभएपछि कमलालाई घरमा थाम्न सक्ने अवस्था रहेन । उनले लगाइएको कपडा च्यात्ने, आफ्नै शरीर कोतर्ने, भीरपाखातिर दौडने, गाईवस्तुु फुकाइदिने, बाली लगाइएको ठाउँतिर गाईवस्तु खेदिदिने, घरका सरसामान फाकीदिने भत्काउने जस्ता उच्छ्ीङखल व्यवहार गर्न थालिन् ।

मानसिक सन्तुलन गुमाएकी कमलाका एक छोरा पनि छन् तर उसको बाबुको अत्तोपत्तो छैन । कमलालाई गाउँकै कसले बलात्कार गरेर गर्भवती बनायो भन्ने पनि परिवारका कसैलाई थाहा छैन र पीडकलाई सजाय दिलाउन सकिएको छैन । उनका छोरा नजीकैको स्कूलमा ५ कक्षा पढ्दापढ्दै छाडेर अहिले गाईगोरु बेच्ने खरिते भएका छन् ।

इन्द्रमायाकी कान्छी छोरी लक्ष्मी पनि मानसिक रोगी छन् । केही वर्षदेखि मानसिक रोगले ग्रसित २५ वर्षीया छोरीको व्यवहारले पनि इन्द्रमायालाई खुब पीडा दिएको छ । उनको अवस्था दिदीको जस्तो छैन । उनी बोल्दिनन् तर बिहानै घरबाट निस्केर गाउँभरि डुल्ने गर्छिन् । कुनबेला कहाँ पुगेर के होला भन्ने चिन्ताले इन्द्रमायाको मन हुँडलिन्छ । जेठी छोरीसँंगै कान्छी छोरी पनि मानसिक रोगी हुँदा आमाको भक्कानो फुटेर आउँछ ।

इन्द्रमायाको जीवनमा अरु पनि धेरै दर्दनाक पीडा छन् । उहाँ आफैंँलाई लामो समय छरछिमेकीबाट बोक्सीको आरोप लागेको थियो । उहाँलाई कतिपय छरछिमेकी र आप्न्तहरुले छिछि, दुरदुर गरे । यसैकारण उनी वर्षाँैंसम्म घर बाहिर निस्कन सकिनन् । यससँगै उहाँलाई केही वर्ष यता दम, मिर्गौलामा पत्थरीसमेत छ । उमेरले डाँडो काटिसकेको, चाउरी परेको अनुहार र मैला लुगा अनि शरीरमा बाँकी हाड र छाला मात्रैले उहाँको परिचय बनेको छ ।

इन्द्रमायाको हिजोआज समय अलिकति फेरिएको छ । उहाँ हिँडडुल गर्न, कहिलेकाहीँ सभासम्मेलन, गोष्ठी र हाटबजार हिँड्न थाल्नुभएको छ । गाउँले अहिले प्रत्यक्ष रुपमा बोक्सीको आरोप लगाउन सक्दैनन् । स्थानीय अधिकारकर्मी, दलित सचेतना समाज नेपाललगायतका अधिकारवादी सङ्घसंस्थाको पहलमा उहाँ घरबाहिर निस्कन सक्ने हुनुभएको हो । वृद्धाभत्ता पाएयता परिवार आफैँले चलाउँदै गर्नुभएका इन्द्रमायाले नयाँ लुगा नलगाएको पनि वर्षाैँ भयो । उहाँले कहिले छोरीले त कहिले कसैले दिएका लुगाबाट आफ्नो दुःख टार्दै आउनुभएको छ ।

चार छोरी र दुई छोरा जन्माउनुभएका इन्द्रमायाको यतिबेला दुई मानसिक रोगी छोरीसँंगै जेठा छोरासमेत मानसिक रोगी भई उपचारपछि निको भए पनि सरसराउँदो अवस्थामा छैनन् । कान्छो छोरो भने अरुभन्दा केही सबल देखिन्छन्, उनले यस वर्ष १२ कक्षाको परीक्षा दिएका छन् ।

उनलाई अब कसरी पढाउने र पालनपोषण कसरी गर्ने भन्ने चिन्तैचिन्तामा उहाँ हुनुहुन्छ । श्रीमान् झप्पुबहादुर पनि दमका रोगी छन् तर उनी हिजोआज घरमा भन्दा बढी समय रक्सी खानमा ध्यान दिने र घरको समस्या नबुझ्ने भएका छन् । बल र बैँस सकिएर हातपाउ बसिसकेका झुप्पबहादुर दिनभरि दाम्लो, डोको र नाम्लो बुनेर कमाएको पैसा एकैछिनमा रक्सी पिएर सक्ने गर्छन् ।

कमलाको उपचारमा परिवार र समाजले पहल नगरेको पनि होइन तर भनेजति रकम जुटाउन नसक्दा र औषधि निरन्तर खुवाउन नसक्दा आफूले केही गर्न नसकेको इन्द्रमायाले दुखेसो सुनाउनुभयो । अहिले भने इन्द्रमायाका लागि सङ्घीय सरकार, जनता आवास कार्यक्रमअन्तर्गत एउटा घर निर्माण भइरहेको छ ।

गरीबीकै कारण घर बनाउँदा आफूले गर्नुपर्ने श्रमदान र आवश्यक सामग्री जुटाउन नसकेर समयमै घर निर्माण पूरा हुन सकेको छैन । बस्नका लागि घर बन्दै गरे पनि लाउन, खान आफ्नो बारीमा फलाएको अन्नबालीले पुग्दैन । वृद्ध भत्ताकै आशमा आफ्नो परिवार धान्दै आउनुभएका इन्द्रमाया स्थानीय तहको सरकारको आशमा रहेको बताउनुहुन्छ ।

    सम्बन्धित समाचार...