६ बैशाख २०८१, बिहीबार

‘निर्मला प्रकरण सल्टाउनु पहिलो प्राथमिकता’

1611070641 C1KMk

कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न यहाँ आइपुग्नुभएका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पहिलो प्राथमिकतामा राखेर अनुसन्धान जुट्ने बताउनुभएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सरुवा भई कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न पुगेका प्रहरी उपरीक्षक चतुर्वेदीले निर्मला प्रकरणको हरेक आयामबाट सुक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो । “म स्वयं घटनाको अनुसन्धानका लागि केही महिना कञ्चनपुरमा यसअघि पनि बसेको थिए ।” आज यहाँका सञ्चारकर्मीसितको छलफलमा उहाँले भन्नुभयो, “उक्त प्रकरणमा जोसुकै भए पनि तथ्य भेटिए छोडिन्न ।”

उहाँले निर्मला प्रकरणमा बिना तथ्य कुनै पनि व्यक्तिसित घटना जोड्नु गलत भएको बताउनुभयो । “अनुसन्धान गर्ने प्रहरी हो, केही तथ्य भए राज्यलाई सहयोग गर्नुहोस् ।” उहाँले भन्नुभयो, “जिल्लाको शान्ति सुरक्षासँगै यो प्रकरणमा गम्भीर भएर इमान्दारिताका साथ लाग्ने योजनामा छु ।” उहाँले घटनाको अनुसन्धानका लागि लामो समयदेखि ब्युरोको टोली कञ्चनपुरमै खटिएको बताउनुभयो ।

“समयसीमा तोक्दिन तर मेरो पूरै प्रयास यो घटना सल्टाउनेमा हुनेछ ।” उहाँले भन्नुभयो, “यहाँको तस्करी, लागुऔषध ओसारपसार तथा अन्य सचेतनामूलक कार्यक्रममा यही समुदायसित सहकार्य गरेर अघि बढ्नेछु ।”