७ बैशाख २०८१, शुक्रबार

हडतालबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराउँछौं : पर्यटनमन्त्री भट्टराई

yogesh

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका हुन् ।

‘छलफल गरौं, कति घन्टा बस्ने हो म तयार छु । मलाइ तर्कबाट कन्भिन्स गराउनुस्, तालाबन्दीबाट म कन्भिन्स हुन्न’, आन्दोलनको धम्कीबाट आक्रोसित बनेका मन्त्री भट्टराईले अगाडि भने, ‘स्थापना दिवसकै दिन केको बन्द हड्ताल ? यदि कसैले सार्वजनिक सम्पत्तिमा क्षति गर्छ भने त्यसमा संलग्नबाटै क्षतिपूर्ति तिराइनेछ ।’

मन्त्री भट्टराईले क्षतिपूर्ति भराउने नीति कार्यान्वयनमा आएको स्मरण गराउँदै विकास र सिर्जनामा लाग्न निर्देशन दिए । ‘बन्द, हड्ताल र आन्दोलन इतिहास भइसकेको छ । यो विकासको कुरा गर्ने समय हो’, बन्द हडतालबाट आफू वाक्कदिक्क भएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने ।

अहिलेसम्म कर्मचारीको प्राधिकरण फुटाउन नहुने मतबाट आफू कन्भिस नभएको र कन्भिन्स गरे विधेयक रोक्ने मन्त्री भट्टराईले बताए ।