८ बैशाख २०८१, शनिबार

सभामुखको चयन सत्तारुढ दलबाटै हुन्छ, अन्य दललाई दिदैनौं : सञ्चारमन्त्री बाँस्कोटा

State Minister Gokul Baskota

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कालापानी, लिपुलेक मात्रै नभइ लिम्पियाधुरा पनि नेपालकै भूमी भएको बताएका छन् ।

प्रेस संगठन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै मन्त्री बाँस्कोटाले भारतले कालापानी लिपुलेकमा दाबी गरेपनि लिम्पियाधुरासम्म नेपालकै भएको बताए ।

उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउँदै आफूहरुले ब्रिटिसकालिन सन्दर्भ सामाग्राीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए ।

बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताए । उनले अन्य दललाई उक्त पद नदिने सङ्केत गरे । “सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।”

उनले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारीसमेत दिए । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताए ।

विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।