७ बैशाख २०८१, शुक्रबार

बरङ्जा जोड्ने सडक आयोजना सञ्चालन

road 1

म्याग्दीको मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ मा पर्ने बरङ्जालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरङ्जा सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको छ । विसं २०७५ मा गाउँपालिकाले ट्र्याक खोलेको पोक–सातबीसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ नं वडा कार्यालय हुदै ४ नं वडा कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोकबाट ज्यामिरे हुदै पहिरो खोरियासम्मको पहिलो खण्डको स्तरोन्नति भइसकेको छ ।

राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा रु दुई करोड ९९ लाख लागत अनुमान गरिएको आयोजनाको प्रदीप–जुम्ली जेभीले रु एक करोड ८३ लाख तीन हजार ५२४ मा २०७६ चैत ७ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै भएको लकडाउनका कारण म्याद थप भएको आयोजना पुस अन्तिम साता सकिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । “गत आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना र लकडाउनले प्रभावित बनायो”, उहाँले भन्नुभयो, “थप गरिएको छ महिनाको म्यादभित्रै ठेकेदारले काम सकेका छन् ।”

आयोजनामार्फत पोक, सातबीसे, ज्यामिरे र पहिरो खोरिया खण्डमा सडक विस्तार, सोलिङ, पर्खाल र नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । बाह्रै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्यसहित ग्रामीण क्षेत्रको नमूना सडक बनाएको उपाध्यक्ष केसीको दाबी छ । सातबीसेमा २०० मिटर डाइभर्सन सडक निर्माण गरिनुका साथै यसअघि तीनदेखि चार मिटर चौडा भएको सडकलाई विस्तार गरेर सात मिटर फराकिलो बनाइएको गाउँपालिकाका इञ्जिनीयर सुजन पौडेलले बताउनुभयो ।

मापदण्डअनुसारको मोड र ग्रेड बनाइएको छ । विभिन्न ठाउँमा २५० मिटर पक्की नाली र २०० मिटर दूरीमा मेसेरेनरी पर्खाल निर्माण भएको छ । पञ्चानब्बे दशमलव ५३ घनमिटर सोलिङ, ६०.९६ घनमिटर पिसिसी ढलान, २२४ घनमिटर पक्की मेसेरेनरी पर्खाल र नाली, एक हजार ३४४ घनमिटर ग्यावियन जालीको पर्खाल लगाइएको छ । विस्तारका लागि सात हजार ८८१ घनमिटर माटो कटिङ र स्ट्रक्चरको फाउण्डेसनका लागि एक हजार २०६ घनमिटर कटिङ गरिएको छ । सम्झौतामा नभए पनि ब्याक फिलिङको काम ठेकेदार आफैँले गरेको छ ।

साविक बरङ्जा गाविसमा पर्ने ३ र ४ नं वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । यो सडकबाट एक हजारभन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् ।

बाह्रै महिना नियमित बस सञ्चालन गर्ने लक्ष्यसहित सडक स्तरोन्नतिको आयोजनालाई निरन्तरता दिइएको अध्यक्ष रोकाले बताउनुभयो । उहाँले माटेबगर र अर्मनको सिमाना तथा फापरखेत र पखेर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । यी दुईवटा पुल बनेमा बरङ्जा र अर्मन बाबियाचौरसँग सिधा सडक सञ्जालमा जोडिने छन् । बरङ्जा जोड्ने सडक आयोजनालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । यो गाउँपालिकाको गौरवको आयोजना हो । पोकबाट बुकेनीसम्मको दूरी छ किलोमिटर छ ।

योजना आयोग र गाउँपालिकाको साझेदारीमा यसपालि पनि रु तीन करोड ३४ लाखको लागत अनुमान गरिएको ठेक्का मूल्याङ्कनको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । पहिरो र भूक्षय रोकथामका लागि विस्तार गरिएको सडक छेउछाउमा अम्रिसो, राइखन्युलगायत घाँसका बिरुवा रोप्ने योजना छ ।