१३ बैशाख २०८१, बिहीबार

प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने, नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन

shankar pokhrel

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताउनु भएको छ । उहाँले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताउनुभएको छ ।

नेकपा अर्घाखाँचीले सन्धिखर्कमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा सङ्घीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकारमात्र हैन कुनै संवैधानिक अङ्गहरुसमेत विघटन नभएको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भनेर भन्नु अनुचित हो ।”

उहाँले पूर्वप्रधानमन्त्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरुलाई निर्वाचनमा जान डराएको आरोप लगाउनुभयो । उहाँले निर्वाचन आयोगमा पुगेर निर्वाचनका काम अगाडि नबढाउन आग्रह गर्नुले निर्वाचनमा जान डाराएर देखिएको उहाँको आरोप छ ।

यस्तै ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले लोकतन्त्र र सङ्घीयता बचाउन संसद् विघटनको विकल्प नभएको बताउनुभउको छ । उहाँले उपलब्धिको रक्षा गर्न सबैभन्दा उत्कृष्ट बाटो नै प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति तय गर्नुभएको समेत बताउनुभयो । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री र पार्टी अध्यक्ष नभई नहुने भएपछि पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै सिद्धान्त र नीतिभन्दा पनि पद र कुर्चीका लागि पार्टी विभाजनको अवस्थामा पु¥याएका छन् ।” कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री तथा नेकपाका नेता मणि थापा, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालगायतले कार्यकर्तालाई निर्वाचनमा लाग्न निर्देशन दिनुभएको थियो ।