२ असार २०७८, बुधबार

राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्डको काममा चरम ढिलासुस्ती

bani jomsome road

उत्तर–दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरी राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ । सामान्य मार्ग निर्माण सकिएसँगै स्तरोन्नतिका लागि २०७३ मङ्सिरदेखि सो करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । निर्माण अवधि सकिएको एक वर्ष बितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति गर्ने योजना अघि बढेको थियो । विसं २०७६ मङ्सिरसम निर्माण सम्पन्न गर्ने गरी ७६ किलोमिटरको बेनी –जोमसोममा चार र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सात प्याकेजसहित निर्माण अघि बढाइए पनि अहिलेसम्म बेनी –जोमसोममा ४५ र जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी अश्विनकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङदेखि कोरला खण्डको काम आगामी जेठभित्रै सम्पन्न गर्ने तयारी गरिएको तथा बेनी–जोमसोम खण्डको काम सकिन अझै एक वर्ष लाग्ने देखिएको छ ।

‘‘आयोजना गत वर्ष नै सकिनुपर्ने हो, एक वर्ष समय थपिएको पनि मङ्सिरमा सकिएको छ, फेरि एक वर्षसम्म समय थप गर्ने र निर्माण कम्पनीलाई आवश्यक स्रोत, जनशक्तिका साथ परिचालन गर्ने योजना छ’’,उहाँले भन्नुभयो । बेनी–जोमसोम खण्डमा म्याग्दी क्षेत्रको प्रगति गत वर्षको तुलनामा थप घटेको छ । बर्खायाममा बाढी र पहिराले गत वर्ष बनाइएका संरचनामा समेत ठूलो क्षति पु¥याएपछि ५५ प्रतिशतमा पुगेको प्रगति ४५ प्रतिशतमा झरेको आयोजनाले जनाएको छ । बेनी–जोमसोम खण्डको ३८÷३८ किलोमिटरको म्याग्दी र मुस्ताङ भागमध्ये म्याग्दीतर्फको प्रगति न्यून छ । जोमसोमदेखि कोरलासम्म ५५ किमी सडक स्तरोन्नतिको काम सकेर हस्तान्तरण भइसकेको छ भने बाँकी ५५ किमीमध्ये ३१ किमीको काम अन्तिम चरणमा पुगेको छ ।

करिडोरअन्तर्गत अहिलेसम्म पनि काम शुरु हुन नसकेको पर्वतको मालढुङ्गादेखि बेनीसम्मको १३ किमी सडकको समेत ठेक्का प्रक्रियामा र छ । पर्वत र बागलुङ कताबाट सडकलाई अघि बढाउने भन्ने निक्र्याेल नहुँदा अन्योल बनेको सा खण्डलाई पर्वत हुँदै बेनी आउने सडकलाई नै विस्तार गर्ने गरी आयोजनाले ठेक्का आह्वान गरिसकेको छ । आगामी फागुनदेखि नै सो खण्डमा पनि निर्माण कम्पनी परिचालन भइसक्ने आयोजनाले जनाएको छ ।

चार वर्षदेखि सञ्चालनमा रहेको कुल रु सात अर्ब ७५ करोड लागत अनुमानको सो सडक आयोजनामा अहिलेसम्म ४३ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ । आयोजनाअन्तर्गत सडक स्तरोन्नतिसँगै विभिन्न खोलामा पक्की पुलसमेत निर्माणले तीव्रता पाएको छ । बेनीदेखि कोरला नाकासम्मको सडक खण्डमा विभिन्न ३४ ठाउँमा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि २० ठाउँको पुल ठेक्का लगाइसकिएको र अहिलेसम्म तीन स्थानको पुल निर्माण सम्पन्न भइसकेको छ । बाँकी पुलको समेत ठेक्का लगाउने तयारी छ ।

कामले अझै पाएन तीव्रता

गत चैतदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशव्यापी जारी गरेको बन्दाबन्दीका कारण ठप्प आयोजनाको कामले अहिलेसम्म पनि तीव्रता पाउन सकेको छैन । सरकारले बन्दाबन्दी खुलाएको र बर्खायाम सकिएर हिउँदसमेत बितिसक्दा निर्माण कम्पनीहरूले अझै पनि पूर्ण क्षमतामा कार्यक्षेत्रमा जनशक्ति र उपकरण परिचालन गर्न नसकेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

‘‘म्याग्दीतर्फको काम न्यून देखिएको छ, कहीँकतै मात्रै काम भएको देखिन्छ, यसबारेमा पटकपटक सम्बन्धित निर्माण कम्पनी र आयोजनाका प्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउँदै आएका छौँ, हिउँदयाममा समेत कार्यक्षेत्रमा उल्लेख्य जनशक्ति र मेसिन, उपकरण परिचालन नगर्नाले आयोजना थप पछि धकेलिने जोखिम बढेको छ’’, उहाँले भन्नुभयोे ।

जोमसोमदेखि माथिको खण्डमा चिसो बढेसँगै गत मङ्सिर पहिलो सातादेखि निर्माण नै रोकिएको छ । आयोजनाका सूचना अधिकारी यादवका अनुसार जोमसोम–कोरला खण्डको काम आगामी जेठभित्रै सकिने र बेनी–जोमसोम खण्डमा समेत चैतदेखि कालोपत्रेको काम शुरु गर्ने गरी निर्माण कम्पनीहरूलाई ताकेता गरिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले करिडोरअन्तर्गत ढिलासुस्ती भएका खण्डहरूको कामलाई यथाशक्य चाँडो तीव्रता दिन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएको र आयोजनालाई समेत आग्रह गरिएको बताउनुभयो । ‘‘म्याग्दी खण्डको कामलाई नजीकबाट अवलोकन गरिरहेका छौँ, कहाँकहाँ अवरोध र समस्या छन्, त्यो भन्नुहोस्, हामी सहजीकरण गर्छौँ तर मुख्य काम गर्ने यस याममा जनशक्ति र मेसिन उपकरण पूर्ण क्षमतामा परिचालन गर्नुहोस् भनेका छौँ’’, प्रजिअ अधिकारीले भन्नुभयो ।

कहाँ कति प्रगति

आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएका निर्माण कम्पनीमध्ये शर्मा युनाइटेडले ४५ प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ४५ प्रतिशत, घाँसादेखि कोबाङसम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत र कोबाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् । आयोजनाअन्तर्गत जोमसोमदेखि ताङ्वेसम्म बज्रगुरु खड्का कृष्ण जेभीले र ताङ्वेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले गत वर्ष नै स्तरोन्नतिको काम सकेर सडक हस्तान्तरण गरिसकेका छन् ।

चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोशी एण्ड न्यौपानेले ८५ प्रतिशत निर्माण सक्दा भेनादेखि भैmटेसम्म कञ्चनजङ्घा लामा बिरुवाले सबै काम सकेको छ । झैटेदेखि चराङसम्म कञ्चनजङ्घा लामा मोतीदान जेभीले ८५ प्रतिशत र चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सकेका छन् । छोसेरदेखि कोरलासम्मको १६ किमी सडक दिवा रौतहा एपेक्स जेभीले दोस्रो वर्षमै स्तरोन्नतिको काम सम्पन्न गरिसकेको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा चासो र चर्चा पाइरहेको कालीगण्डकी करिडोरसँग आसपासका क्षेत्रको भाग्य र भविष्यसमेत जोडिएको छ । राष्ट्रको समृद्धि र विकासको दीर्घकालीन लक्ष्यका लागि समेत वरदान सावित बन्ने देखिएको आयोजनाका काममा विभिन्न कारणवश भएका ढिलासुस्तीलाई हटाउँदै अघि बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।