१६ चैत्र २०८०, शुक्रबार

चितवनको कालिका नगरपालिकामा पन्ध्र श्य्याको अस्पताल सञ्चालनमा

hospital

चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ ।

जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शुक्रबार नगर अस्पतालको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले अस्पतालको सेवा सञ्चालन भएसँगै उपचारका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले १५ शय्याबाट शुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शय्याको बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी बढाउने बताउनुभयो । “ नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ”,उहाँले भन्नुभयो, “उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।”
विसं २०४९ मा स्थापना गरिएको जुटपानी स्वास्थ्यचौकीको २०६३ मा स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो ।

अस्पतालमा स्तरोन्नति भएसँगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवासहित आकस्मिक सेवा, इसिजी सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा थप गरिएको छ । चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्थासहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो ।

सो अस्पतालमा चार विशेषज्ञ चिकित्सकसहित ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेछन् । केही दिनमै प्रयोगशालामा थाइराइडको परीक्षण, भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उहाँले बताउनुभयो ।