१३ बैशाख २०८१, बिहीबार

उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा ल्याइने

udaypur cement

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कार्यभार सम्हाल्नुभएको छ । उहाँको नियुक्तिसगै उक्त सिमेन्ट उद्योगले दुई वर्षपछि महाप्रबन्धक पाएको छ । गत पुस २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका न्यौपानेलाई उदययुर सिमेन्ट उद्योगमा चारवर्षे कार्यकालका लागि महाप्रबन्धका रुपमा नियुक्ति गर्ने निर्णय गरेको थियो । उहाँले नोक्सानमा गएको उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, थप क्षमता वृद्धिका लागि अध्ययन गराउने, बजार व्यवस्थापन र ब्राण्डिङमा जोड दिने, लागत कम गर्ने उपायको खोजी गरी अन्य उद्योगसँग प्रतिष्पर्धी बनाउने मुख्य योजना रहेको बताउनुभयो ।

यसैगरी उहाँले वैकल्पिक ऊर्जा, उद्योगका नाममा रहेको जग्गाको संरक्षण र अधिकतम उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताउनुभयो । नवनियुक्त महाप्रबन्धक न्यौपानेले उद्योगका कामदार र कर्मचारीलाई उत्प्रेरणात्मक सीप अभिवृद्धिमुखी तालीम सञ्चालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने, वातावरण प्रदूषण हुन नदिन कोइलामा बायोमास प्लेटको मिश्रण गर्न सकिनेतर्फ पनि अध्ययन गर्नेलगायतका योजना अघि सार्नुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस गरेको थियो । उक्तमध्येमा न्यौपानेलाई नियुक्त गरिएको हो । सिफारिस समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायण विंडारी रहनुभएको थियो । न्यौपाने नेपाल चार्टड एकाउन्टेन्ट सङ्घ, नेपाल बार एसोसिएसनमा सदस्य, नेपाल अटो मोबाइल्स सङ्घ नाडामा महासचिवसमेत भइसक्नुभएको छ ।

यसैगरी नागरिक ट्रस्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पताल जस्ता सामाजिक संस्थामा आबद्ध हुनुहन्छ । उहाँ शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यावसायिकरुपमा आबद्ध रहनुभएको छ । अर्थ विज्ञ, लेखापरीक्षक तथा कानून व्यवसायीसमेत रहनुभएका न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ हाल माछापुच्छ«े बैंकका सञ्चालकमा रहनुभएको छ ।

उहाँसँग सञ्चालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । न्यौपानेसँग चौधरी ग्रुपमा महाप्रबन्धकका रुपमा दुईदशक लामो समय काम गरेको अनुभवसमेत छ । उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली रहेको थियो । उदयपुर सिमेन्टले दुई वर्षपछि महाप्रबन्धका रुपमा न्यौपानेलाई पाएको हो ।