१५ चैत्र २०८०, बिहीबार

इटलीद्वारा सङ्कटकाल अवधि विस्तार

Amalfi Italy
फाइल फोटो

कोभिड–१९ सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी सङ्कटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ ।

बिहीबार सरकारद्वारा जारी विज्ञप्तिअनुसार इटलीमा अहिलेसम्म मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८० हजारभन्दा बढी पुगेको छ ।

इटालीले सन् २०२० को जनवरी ३१ देखि महामारीका कारण राष्ट्रिय सङ्कटकालको घोषणा गरेको हो ।

इटलीले सङ्कटकालको विस्तारसँगै बेलुका १० बजेदेखि विहान पाँच बजेसम्मलाई निषेधाज्ञा अवधि पनि तोकिएको छ । इटलीमा सङ्क्रमणको जोखिम भएका क्षेत्रमा नियन्त्रणका फरक फरक उपाय अवलम्बन गरिएको छ ।

सरकारले सङ्क्रमण नियन्त्रणका लागि चौथो तहको नियन्त्रणका उपाय पनि अपनाएको छ । जस अनुसार हरेक एक लाख बासिन्दाहरू रहेका क्षेत्रमा दैनिक ५० व्यक्ति सङ्क्रमित भएमा उक्त क्षेत्रलाई ‘ह्वाइट’ क्षेत्र मानी गतिविधि सञ्चालनमा अनुमति प्रदान गर्न सकिने जनाएको छ तर कुनै पनि इटालियाली क्षेत्र यो मापदण्डमा पर्न सफल भएको पाइदैन ।

सरकारले इटलीका २० वटै क्षेत्रमा आन्तरिक भ्रमणका लागि पनि आगामी फेब्रुअरी १५ सम्म रोक लगाएको छ । श्रइटलीको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको पछिल्लो तथ्याङ्क अनुसार इटलीमा बुत्रबारमात्र १५ हजार ७७४ थप व्यक्ति कोभिड सङ्क्रमित भएका छन् भने ५०७ जनाको मृत्यु भएका छन् । यससँगै अहिलेसम्म इटलीमा सङ्क्रमित हुनेको सङ्ख्या पाँच लाख ६४ हजार ७७४ पुगेको छ भने कूल ८० हजार ३२६ सङ्क्रमितको मृत्यु भएको छ ।

इटलीमा बुधबार रातिसम्ममा कूल आठ लाख ८५ हजार ८१४ व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको बताइएको छ ।