१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य क्षेत्रमा गुनासो

Rajbiraj Nagarpalika

स्थानीय तहले स्वास्थ्य क्षेत्रको जिम्मा पाएपछि सेवाको स्तर कमजोर बनेको स्वास्थ्यकर्मीले स्वीकारेका छन् । राजविराज नगरपालिका कार्यालयको बैठक कक्षमा आयोजित अन्तक्र्रियामा सहभागी स्वास्थ्यकर्मी एवं महिला स्वास्थ्य स्वयंसेविकाले सो कुरा स्वीकारेका हुन् ।

स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबीचको अन्तक्र्रियामा स्वास्थ्य शाखाका सिनियर अहेव शिवनारायण चौधरीले राम्रो भनेर काम गरे पनि स्वास्थ्य सेवाको स्तर झनझन खस्कँदै गएको बताउनुभयो । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिए पनि नागरिक उक्त हकबाट बञ्चित हुनुपरेको र स्वास्थ्यसम्बन्धी समस्यैसमस्या रहेको सहभागीले गुनासो गरेपछि स्वास्थ्यकर्मीले कमजोरी स्वीकारेका हुन् । उहाँहरुले कमजोरी औँल्याएर थप जिम्मेवार बन्न कार्यक्रमले मद्दत पु¥याएको बताउनुभयो ।

कार्यक्रममा राजविराज नगरपालिकाअन्तर्गत रहेको अस्पताल, आयुर्वेद अस्पताल, स्वास्थ्य केन्द्र, खोप केन्द्रको सेवा, औषधि तथा सेवासुविधाको प्रयोग र सेवाग्राहीले पाइरहेको सेवा बारेमा छलफल भएको थियो । अन्तक्र्रियामा सहभागीले राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा दरबन्दीअनुसार चिकित्सक–कर्मचारी नरहेको, भएका चिकित्सक पनि निर्धारित समयसम्म नबसेर क्लिनिकमुखी भएको, उपचार गर्न झण्झट मानेर रेफर गर्ने गरेको, शहरी स्वास्थ्य केन्द्र र खोप केन्द्र व्यवस्थित हुन नसकेको, विद्यालयमा नियुक्त स्टाफ नर्सले थर्मामिटरसमेत नपाएको जस्ता समस्या राखेका थिए ।

स्वास्थ्य स्वयंसेविका निर्मला पोखरेलले सेवासुविधाका साथै लामो समयदेखि स्वयंसेविकाले तालिम नपाएको, शहरी स्वास्थ्य केन्द्रमा गर्भवती जाँच नहुने गरेको, म्याद सकिन लागेपछि औषधि र बालभिटा बाँड्न दिने गरेको लगायतका समस्याबारे अवगत गराउनुभयो । युएनडब्लुएफपीका राकेशकुमार यादवले स्वास्थ्य बीमाको प्रचारप्रसार नभएको, स्वास्थ्य स्वयंसेविका, आमासमूहको परिचालन हुन नसकेको, स्वस्थ्य क्षेत्र अव्यवस्थित रहेकाले जिम्मेवार निकायलाई नैतिक, मानसिक, सामाजिक दबाब दिन जरुरी रहेको बताउनुभयो ।

राजविराज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख निरञ्जन यादवले अन्तक्र्रिया कार्यक्रमले जिम्मेवार निकायलाई जवाफदेही बनाउनुका साथै जिम्मेवारी बोध गराएको बताउनुभयो । कोभिड–१९ महामारीको नियन्त्रणमा खटेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको, खोप केन्द्रका लागि आएको बजेट सदुपयोग हुन नसकेको, आमा समूहलाई चियाको व्यवस्थासमेत गर्न नसकिएको भन्नुहुँदै यादवले आफूले बनाएको योजना लागू गर्न सहयोग नपाएको बताउनुभयो । स्वास्थ्यसम्बन्धी योजना, नीति, कार्यक्रमको सदुपयोगबारे निगरानी राख्न उहाँले नागरिक समुदायसँग आग्रह पनि गर्नुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सदस्य एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले निगरानी समूहको नेतृत्वमा दबाब सिर्जना गर्न समूहलाई र अन्तक्र्रिया कार्यक्रममा उठेका समस्या समयमै समाधान गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।

इन्सेकको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबीच भएको अन्तक्र्रिया कार्यक्रमको उद्देश्यबारे बताउँदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सेवाप्रदायक निकायलाई खबरदारी गर्ने तथा सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाकाबारे स्थानीय समुदायलाई जानकारी दिई सचेत पार्न खोजिएको बताउनुभयो । मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुवर साहको अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ता दीपककुमार यादवले परियोजना र स्वास्थ्य अधिकारका बारेमा जानकारी गराउनुभयो ।