७ बैशाख २०८१, शुक्रबार

‘प्रहरीसँग एकदिन विद्यार्थी’

prahari sanga ekdin bidhyarthi

समुदाय–प्रहरी साझेदारीअन्तर्गत बरेङ गाउँपालिकाले ‘प्रहरीसँग एकदिन विद्यार्थी’ कार्यक्रम लागू गरेको छ । विद्यार्थीमा शान्ति, सुरक्षा एवं सुव्यवस्थाका विषयमा जीवनपयोगी शिक्षा हासिल गराउने कार्यक्रमको उद्देश्य छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा र इलाका प्रहरी कार्यालय बरेङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाबीच समझदारीपत्रमा हस्ताक्षर भई कार्यक्रम कार्यान्वयनमा गइसकेको छ । ‘बरेङ समाज, सभ्य समाज’ को आदर्श बाक्यलाई व्यावहारिक रुपमा सार्थकता दिन कार्यक्रमले सघाउने विश्वास लिइएको छ ।

शान्ति सुरक्षालाई सुव्यवस्थित गर्ने, विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउन नैतिक शिक्षा दिलाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो । लागुपदार्थ दुव्र्यसन निराकरण, सामाजिक सञ्जालको दुरुपयोग, विद्युतीय अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनलगायतका विषयमा पनि प्रहरीले विद्यार्थीमाझ पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

यसैगरी सडक दुर्घटना कम गर्न ‘जोखिमपूर्ण यात्रा बहिष्कार, हाम्रो सुरक्षाको आधार’ लक्ष्य हासिल गर्न विद्यालयस्तरबाटै ट्राफिक सचेतना अभियान चलाइने भएको छ । विपद् व्यवस्थापनसम्बन्धी खोज, उद्धार, राहत र पुनःस्थापनाका विषयमा पनि विद्यार्थीलाई अभिमुखीकरण गरिने छ । अपराध रोकथाम, सामाजिक विकृति, विसङ्गतिविरुद्धको सामाजिक अभियानमा समेत विद्यार्थीको सहभागिता बढाउन कार्यक्रम प्रभावकारी हुने प्रहरी निरीक्षक देवकोटाको भनाइ छ ।

गाउँपालिकालाई कार्यक्रमको अनुगमन गर्ने र इलाका प्रहरी कार्यालयलाई त्यसको कार्ययोजना ल्याउने जिम्मा छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा गाउँपालिकाले एकमुष्ट रुपमा रु ५० हजार प्रहरी कार्यालयलाई उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।गाउँपालिकाभित्र रहेको सबै सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्मका र सर्वोदय क्याम्पसका सबै विद्यार्थीबीचमा सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यक्रमका लागि एउटा विद्यालयलाई कम्तीमा दुई घण्टाको समय प्रबन्ध गरिएको छ । समझदारीपत्रमा आउँदो चैत मसान्तभित्रलाई कार्यक्रम कार्यान्वयनको अवधि तोकिएको छ । आगामी वर्षमा पनि कार्यक्रमले निरन्तरता पाउने गाउँपालिकाले जनाएको छ ।

समुदायमा सदाचार, शिष्टाचार र नैतिकताको संस्कृति बसाल्न पनि ‘प्रहरीसँग एकदिन विद्यार्थी’ कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ । समाज सुधार र जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाले यसअघि ‘बुहारी स्वागत’लगायतका कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ ।