१४ बैशाख २०८१, शुक्रबार

बिहेकै भोलिपल्ट श्रीमतीको हत्या

बिहेकै भोलिपल्ट श्रीमतीको हत्या
death representative image
सान्केतिक तस्बिर

गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै हत्या गरेका छन् । मकवानपुरकी २० वर्षीया अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न प्रयोग गरिएको शौचालयको खाल्डोमा लुकाएका थिए । खाल्डो छोप्ने ढक्कन निकै ठूलो भएकोले अर्जुनले शव लुकाउन ढक्कन उठाउन काका ३२ वर्षीय छवि थापा र आफन्त ४७ वर्षीय इन्द्रबहादुर थापालाई समेत प्रयोग गरेका थिए ।

मंसिर १० गते दिउँसोसम्म नयाँ दुलही अनिशालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा नदेखेपछि उनीहरुले अर्जुनलाई सोध्दा माइतीघर गएकी भनेर टारेका थिए ।छिमेकीले घटनाबारे शंका गरेपछि प्रहरीलाई खबर गरेका थिए । गाउँलेले नै थाहा पाएपछि घटना बारे प्रहरीलाई सूचना दिइएको सिद्धलेक ३ का अध्यक्ष देवबहादुर पुलामीले बताए ।

गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिशाका श्रीमान् अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तीन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले जनाएका छन् ।

स्रोत : कान्तिपुर दैनिक