७ बैशाख २०८१, शुक्रबार

चुनावबाट कांग्रेस भाग्दैन : उपसभापति निधि

Bimalendra Nidhi

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जान तयार रहेको बताउनुभएको छ ।

जनकपुरधाम–८ मा आयाजित शहीद सत्यनारायण पाठकको सालिक अनावरण कार्यक्रममा उहाँले कांग्रेसले सदैव न्यायालयको सम्मान गरेको उल्लेख गर्दै पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको बताउनुभयो । उपसभापति निधिले भन्नुभयो, “प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा अहिले विचाराधीन छ । यसको अन्तिम उपचार अदालतले पक्कै पनि गर्छ ।”उहाँले अदालतबाट पुनःस्थापना वा निर्वाचन मात्र अहिलेको विकल्प रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देश र जनतालाई प्रतिनिधिसभा चाहिएको छ । त्यसको संवैधानिक उपाय भनेको संसद् पुनःस्थापना वा निर्वाचन मात्रै हो ।”

निधिले कांग्रेसलाई कसैले कमजोर नठान्न चेतावनी दिंदै भन्नुभयो, “कांग्रेस बाघ हो । बिलकुल शान्त भएर बसिरहेको हुन्छ तर जब सिकारको लागि तयार हुन्छ, यसको पञ्जाबाट कोही उम्किन पाउँदैन ।”उहाँले गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुने बताउनुभयो । उपसभापति निधिले नेपालमा अब राजतन्त्र कहिल्यै नफर्किने बताउँदै राजतन्त्रको सपना हेर्नेहरुलाई यस्ता दिवा स्वप्न नहेर्न आग्रह गर्नुभयो ।